मोदीले लिए तेस्रो कार्यकालको शपथ, मोदीसँगै ११ दलका ७२ मन्त्रीले लिए शपथ

Modi sapath

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालको शपथ लिएका छन् ।

राष्ट्रपति भवनमा आयोजित एक भव्य समारोहमा छिमेकी राष्ट्र प्रमुख, सरकार प्रमुख तथा अन्य विशिष्ट अतिथिहरूको उपस्थितिसहित मोदीले राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष प्रधानमन्त्री पदको शपथ लिएका हुन् ।

योसँगै मोदीले लगातार तीन कार्यकाल प्रधानमन्त्री बन्ने पूर्वप्रधानमन्त्री जवाहरलाल नेहरूको कीर्तिमानको बराबरी गरेका छन् । नेहरू सन् १९५२, १९५७ र १९६२ मा लगातार तीन पटक भारतको प्रधानमन्त्री बनेका थिए ।

आइतबार मोदीसँगै ११ दलका ७२ मन्त्रीले पनि शपथ लिएको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् । यसरी सपथ लिने मन्त्रीहरुमा अमित शाह, राजनाथ सिंह, नीतिन गडकरी, जेपी नड्डा र शिवराज सिंह चौहान लगायतका रहेका छन् ।

मोदीसँगै उनको मन्त्रिपरिषद्का सदस्यहरूले पनि शपथ लिएका छन् । मोदीपछि दोस्रो नम्बरमा राजनाथ र तेस्रो नम्बरमा अमितले शपथ लिएका थिए । सिंह अघिल्लो मन्त्रीमण्डलमा रक्षा मन्त्री थिए भने शाह गृहमन्त्री थिए । राजनाथलखनउबाट सांसद निर्वाचित भएका छन् ।

त्यस्तै नीतिन गडकरीले चौथो नम्बरमा शपथ लिएका छन् । गडकरी महाराष्ट्रको नागपुरबाट सांसद निर्वाचित भएका छन् । जेपी नड्डा हाल राज्यसभा सांसद र पार्टीका राष्ट्रिय अध्यक्ष छन्।शिवराज सिंह मध्य प्रदेशको विदिशा लोकसभा सिटबाट सांसद निर्वाचित भएका छन् ।

यता निर्मला सीतारमण, एस जयशंकर, मनोहर लाल खट्टर, एचडी कुमारस्वामी, पियुष गोयल, धर्मेन्द्र प्रधान, जितनराम मांझी, राजीव रञ्जन सिंह उर्फ ​​ललन सिंह, सर्वानन्द सोनोवाल, डा वीरेन्द्र कुमार, किंजरापु राम मोहन नायडू, प्रल्हाद जोशी, जुआल ओरमले मन्त्रीको सपथ लिएका छन् ।

त्यस्तै गिरिराज सिंह, अश्विनी वैष्णव, ज्योतिरादित्य सिन्धिया, भूपेन्द्र यादव, गजेन्द्र सिंह शेखावत, अन्नपूर्ण देवी , किरण रिजिजु, हरदीप सिंह पुरी , मनसुख मण्डाविया, जी किशन रेड्डी, चिराग पासवान, सीआर पाटिल, राव इन्दरजीत सिंह, जितेन्द्र सिंह, अर्जुन राम मेघवाल लगायतका मन्त्रीहरूले सपथ लिएका छन् ।

प्रतिकृया दिनुहोस