अमेरिकाले किन यति धेरै महत्व दिँदैछ नेपाललाई ?

Samantha

काठमाडौं । अमेरिकी उपमन्त्री भिक्टोरिया नुल्याण्ड फर्कने बित्तिकै अर्को उच्च तहको भ्रमण हुन लागेको छ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसआइडी) कि प्रमुख सामन्था पावर आगामी साता नेपाल आउने भएकी हुन् । युसएआइडीको वक्तव्य अनुसार उनले अमेरिकी सहायता प्रतिबद्धतालाई अझै बढावा दिँदै सम्बन्ध सुधारको सन्देश दिनेछिन् ।

सन् २००२ मा तत्कालिन अमेरिकी विदेशमन्त्री कोलिन पावेलको भ्रमणपछिकै यो उच्च तहको भ्रमण हो । सामन्था अमेरिकाको क्याबिनेट तहकी अधिकारीमात्रै नभई त्यहाँको राष्ट्रिय सुरक्षा परिषद्की सदस्य समेत हुन् । त्यस अर्थमा आसन्न भ्रमणलाई उच्च महत्वका साथ हेरिएको छ ।

युएसएआइडीका अनुसार उनले राजनीतिक दलका शीर्ष नेता, नागरिक समुदाय लगायतसँग भेट्नेछिन् ।

कुटनीतिक स्रोतका अनुसार यो नियमित किसिमको भ्रमण हो । तर पछिल्ला वर्षमा एमसीसी, इन्डो प्यासेफिक स्ट्र्याटेजी लगायतका मुद्दाले नेपालका नागरिकहरुमा विभिन्न किसिमका तरंग उत्पन्न गरेका छन् । चीनले बीआरआई अघि बढाएसँगै यहाँ भूराजनीतिक टक्कर हुन सक्ने आकलन चलिरहेका बेला सामन्थाको भ्रमण हुन लागेको हो ।


युएसएआइडीले वक्तव्यमा सामन्थाको भ्रमणलाई ७५ वर्षयताको अमेरिका–नेपालका सरकार तथा जनताबीचको सम्बन्धलाई अझै बढाउनका लागि गरिन लागेको प्रयास भनी अर्थ्याएको छ । ‘उहाँले नेपाल र यहाँ गठन भएको नयाँ सरकारसँगको सम्बन्धलाई हार्दिक बनाउँदै अमेरिकी सहयोग प्रतिबद्धताबारे जोड दिनुहुनेछ’ वक्तव्यमा भनिएको छ ।

सामन्था आउने तयारीका लागि भर्खरै अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपमन्त्री भिक्टोरिया नुल्याण्ड नेपाल आएर फर्केकी थिइन् । त्यसअघि मानवअधिकार मामिलासम्बन्धी उपमन्त्री उज्रा जियासमेत गत जेठमा आएर फर्केकी थिइन् ।

जानुभन्दा अघि नुल्याण्डले चीनबारे अर्थपूर्ण वक्तव्य दिँदै अमेरिकासँग उसको सम्बन्ध राम्रो भएको बताएकी थिइन् । ‘नेपालले पनि अमेरिकाजस्तै उत्तरी छिमेकीसँग पनि राम्रो सम्बन्ध राखोस्, त्यसले उसलाई फाइदा हुन्छ’, नुल्याण्डको सन्देश थियो ।


नेपाल भ्रमणका क्रममा पाटन दरबार क्षेत्रमा अमेरिकी उपमन्त्री भिक्टोरिया नुल्याण्ड ।
अमेरिकाले चीनप्रति हार्दिकताका शब्दहरु व्यक्त गरे पनि यथार्थ भने त्यस्तो छैन । ताइवान लगायत समस्याका कारण हाल वासिङ्टन र बेइजिङबीच न्यानोपन छैन । त्यसलाई ‘न्यू नर्मल’ मा ल्याउन उनीहरुका विदेशमन्त्री स्तरीय भ्रमणहरुको क्रम चलिरहेको छ ।

दक्षिण तथा पूर्वी एसियामा चीनको बढ्दो उपस्थिति अमेरिकाका लागि सरोकारको विषय भइसकेकाले उपराष्ट्रपति कमला ह्यारिसले सिंगापुर र भियतनाम भ्रमण गरिसकेकी छन् । अनि विदेशमन्त्री एन्थोनी ब्लिंकेनले भारत भ्रमण गरिसकेका छन् । नयाँ दिल्ली आएका बेला ब्लिंकेनले त्यहीँबाट नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग लामो टेलिफोन वार्ता गर्दै एमसीसीका विषयमा अर्थपूर्ण सन्देश प्रवाहित गरेका थिए ।

नेपालमा बेइजिङको बढ्दो प्रभाव, अनि उसलाई सहज हुने गरी यहाँ गठन भइरहेका वामपन्थी सरकारहरुलाई अमेरिकाले सहज रुपमा लिन सकेको छैन । चिनियाँ सहायताको मात्रा बढ्दै जाँदा नेपालमा स्वतः उसको भूराजनीतिक चासो र सरोकारले महत्व पाउने, त्यसले क्षेत्रीय सुरक्षा रणनीतिमै असन्तुलन आउन सक्ने अमेरिकी बुझाइ छ ।

त्यसैले एमसीसी सहायता परियोजना, अनि इन्डो प्यासेफिक स्ट्र्याटेजी जस्ता सुरक्षा रणनीतिहरुसँगै विगतदेखिको अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोगमार्फत् आइरहेका आर्थिक सहायतालाई समेत अमेरिकाले महत्व दिइरहेको हो ।

प्रतिकृया दिनुहोस