नेप्से उच्च अंकले बढ्यो शेयर, एकै दिन ३ अर्ब ५० करोड ११ लाख ४२ हजारको कारोबार
काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से उच्च अंकले बढेको छ । सेयर बजार विस्तारै लयमा फर्किन थालेपछि लगानीकर्ताहरु उत्साहित भएका छन् । उनीहरु आफ्नो गुमेको लगानी फर्किने आशमा छन् ।
निजी क्षेत्रले माग गरिरहेको चालु पूँजी कर्जा मार्गदर्शनलाई प्रधानमन्त्रीको निर्देशनपछि संशोधन गर्न नेपाल राष्ट्र बैंक तयार भएसँगै यसको सकारात्मक प्रभाव बजारमा देखिएको छ ।आज बिहान प्रधानमन्त्री प्रचण्डले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन र बैंकको ब्याजदर घटाउने सम्बन्धमा अर्थमन्त्री विष्णु पौडेल र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेका थिए । पुँजी कर्जाबारे राष्ट्र बैंकले पनि लचकता देखाएको छ ।
नयाँ सरकारले पुँजी बजारलाई पहिलो प्राथमिकतामा राखेर अर्थतन्त्रलाई गतिशील बनाउने आश्वासन दिएपछि यसको प्रभाव सेयर बजारमा देखिन थालेको हो । लामो समयदेखि सेयर बजारले उचाइ लिन सकेको थिएन् । सेयर बजार निरन्तर घट्दै गएपछि लगानीकर्ताहरु निरास थिए ।
आज २५८ कम्पनीको ८७ लाख ३३ हजार ५४२ कित्ता सेयर ३ अर्ब ५० करोड ११ लाख ४२ हजार ९७ रुपैयाँमा खरिदबिक्री भयो । अघिल्लो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य करेक्सन आएको थियो ।
बुधबार बजार ६४.८७ अंकले बढेर २१२५.९४ बिन्दुमा पुगेको छ । यो ३.१५ प्रतिशतको वृद्धि हो । बुधबार २५८ धितोपत्रको ५७ हजार ३१२ वटा कारोबारबाट ८७ लाख ३३ हजार ५४२ कित्ता सेयर किनबेच भएको छ । यस दिन कारोबार रकम ३ अर्ब ५० करोड ११ लाख ४२ हजार ९७ रुपैयाँको भएको छ । बुधबार सबै उपसूचकमा हरियाली छायो । सबैभन्दा धेरै व्यापार उपसूचकका लगानीकर्ताले कमाए । यो उपसूचकमा ९.७४ प्रतिशतको उछाल आयो ।
बुधबार ८ वटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लाग्यो । यसरी सर्किट लाग्नेमा साल्ट ट्रेडिङ, हिमालयन डिष्ट्रिलरी, कालिका लघुवित्त, मिर्मिरे लघुवित्त, किसान लघुवित्त, नाडेप लघुवित्त, पिपुल्स पावर र खप्तड लघुवित्त रहेका छन् । कालिका पावर, आरएसडीसी लघुवित्तको समेत सर्किट लेवलमा कारोबार भयो ।
उच्च अंकले बढेको बजारमा समेत नेपाल एसबीआई डिबेन्चरका लगानीकर्ताले भने सर्वाधिक १.९९ प्रतिशतले गुमाए । सनराइज ब्लूचिप फण्ड १.७४ प्रतिशतले घट्यो । बुधबार हिमलयन डिष्ट्रिलरी, सानिमा माइ हाइड्रो, नेपाल टेलिकम, नेपाल रिइन्स्योरेन्ससहितका कम्पनीको सर्वाधिक कारोबार भयो ।
प्रतिकृया दिनुहोस