अध्ययन गरेर नयाँ मूल्य तोक्ने सहमतिपछि दूधको मुल्य वृद्धि फिर्ता
काठमाडौँ । दूधको मूल्य समायोजनबारे अध्ययन गरेर नयाँ मूल्य तोक्ने सहमतिपछि डेरी व्यवसायीले बढाइएको दूधको मूल्य फिर्ता लिएका छन् ।
मंगललबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुपन्छीतर्फका सचिव डा. दीपक खरालको उपस्थितिमा डेरी उद्योगीसँग भएको छलफलपछि उद्योगीहरूले मूल्य वृद्धि फिर्ता गरेका हुन् ।
डेरी उद्योग संघमा आबद्ध केही डेरी उद्योगीले पुस १६ गतेदेखि लागू हुनेगरी दूधको खुद्रा मूल्य वृद्धि गरेका थिए । प्रतिलिटर १४ रुपैयाँ वृद्धि गरेपछि त्यसको चर्को आलोचना भएको थियो । त्यसपछि पुस १७ गते सचिव खरालको उपस्थितिमा बसेको डेरी उद्योगी र सरोकारवालासहितको बैठकले मूल्य वृद्धि फिर्ता लिन आग्रह गरेको थियो ।
उद्योगीहरूले पुस १८ गते एक विज्ञप्ति जारी गरी मूल्य वृद्धि फिर्ता नलिने जनाएपछि मंगलबार पुनः उद्योगीसँग छलफल गरेर मूल्य वृद्धि फिर्ता गरिएको हो । यद्यपि दूधको उत्पादन लागत बढेको र किसानबाट खरिद गर्ने मूल्य नै महँगो परपछि मूल्य बढाउनुपरेको डेरी उद्योगीको भनाइ छ । दाना, चोकरको मूल्य बढेको, कर्मचारीको तलबदेखि बैंकको ब्याजसम्म बढेको र मूल्य बढाउन किसानले पटक–पटक दबाब दिए कारण मूल्य बढाउनु परेको उनीहरुले बताइरहेका छन् ।
निजी डेरीबाट उत्पादित ४ प्रतिशत फ्याट र ८ प्रतिशत एसएमएफको आधारमा दूधको मूल्य वृद्धि गरिएको थियो । सरकारले गत वर्ष माघ १७ गतेदेखि देशभर लागू हुने गरी दुग्ध उत्पादन गर्ने किसानलाई प्रतिलिटर ५६ रुपैयाँ ४ पैसा समर्थन मूल्य तोकेको थियो । तर, उद्योगीहरूले सो मूल्यलाई मान्यता नदिई आफ्नै तरिकाले मूल्यमा वृद्धि गरेका थिए । त्यसबेला सरकारले कुनै प्रतिक्रिया जनाएको थिएन । यस पटक सरकारसँग कुनै समन्वय नै नगरी दूधको मूल्यमा वृद्धि गरेपछि सरकारले मूल्य वृद्धि फिर्ता लिन लगाएको हो ।
‘पुस १६ गतेदेखि लागू गरिएको दूधको मूल्य तत्काल स्थगन गर्ने सहमति भएअनुरुप किसानको बढ्दो उत्पादन, मुद्रास्फीति, इन्धन, प्याकेजिङ, कर्मचारीको ज्याला, ब्याजदरमा भएको वृद्धि समेतलाई विचार गरी जति सक्दो छिटो दूधको मूल्य समायोजन गर्न विज्ञ टोली गठन गरी नयाँ दरभाउ कायम हुने विश्वासका साथ केही समयका लागि वृद्धि गरिएको दूधको मूल्य तत्कालका लागि स्थगन गरिएको छ’, डेरी उद्योग सङ्घले मङ्गलबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
आवश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐन, २०१७ मा दूधलाई आवश्यक खाद्य पदार्थमा उल्लेख गरेको छ तर केही उद्योगले गत शनिबारदेखि लागू हुने गरी दूधको मूल्य आफूखुसी प्रतिलिटर १४ रुपैयाँसम्म बढाएका थिए । किसानबाट खरिद गर्दा महँगो परेका कारण बजार बिक्री मूल्य पनि महँगो भएको उनीहरुको भनाइ छ । केही सीमित डेरी उद्योगीले मात्रै आफूखुसी मूल्य बढाएपछि नेपाल डेरी एशोसिएसन, केन्द्रीय दुग्ध सहकारी सङ्घ, किसानका छाता संस्था र उपभोक्ता अधिकारकर्मीले त्यसको विरोध गरेका थिए ।
दूधमा अहिले भएको मूल्यवृद्धि विद्यमान कानुनी व्यवस्थाभन्दा विपरीत छ । राष्ट्रिय दुग्ध विकास नीति २०७८ मा ‘वार्षिक मूल्यवृद्धि एवं उत्पादन लागतका आधारमा दूधको मूल्यलाई हरेक दुई वर्षमा दुग्ध विकास बोर्डको अध्ययन प्रतिवेदनका आधारमा पुनरवलोकन गर्ने व्यवस्था गरिनेछ’, भनी उल्लेख छ ।
प्रतिकृया दिनुहोस