अर्थमन्त्री विष्णु पौडेललाई स्वीकार्यो सेयर बजारले, ६० अंकले बढ्यो बजार
काठमाडौं । सेयरबजारले नयाँ सरकारका अर्थमन्त्री विष्णु पौडेललाई स्वीकारेको छ । उनी अर्थमन्त्री भएको भोलिपल्ट झण्डै ६० अंकले बजार बढेको हो ।
नयाँ सरकार गठन भएसँगै सेयरबजार हरियो देखिनथालेको थियो। त्यसमाथि अर्थमन्त्रीको रुपमा पौडेललाई पाएपछि लगानीकर्ता पनि सेयर कारोबारमा हौसिएको देखिएको छ । योसँगै मंगलबार झण्डै ४ अर्ब रुपैयाँको सेयर किनबेच भएको छ । आज ३ अर्ब ८८ करोड ४३ लाख रुपैयाँको कारोबार भएको हो ।यसअघि १ अर्बबाट पनि न्यूनको कारोबार हुँदै आएकोमा लगातार दोस्रो दिन कारोबार दोब्बरले बढेको छ ।
मंगलबार बजार परिसूचक नेप्से ५९.८७ अंक (३.११ प्रतिशत) ले वृद्धि हुँदा १९८३.९५ अंकमा बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचकमा हरियाली छाउँदा लगानी उपसूचक सर्वाधिक ६.४३ प्रतिशत, हाइड्रोपावर उपसूचक ४.६८ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी र होटल तथा पर्यटन उपसूचक पनि ४ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ ।
बजारलाई सपोर्ट गर्ने कुनै नीतिगत परिवर्तन नहुँदा पनि विष्णु पौडेले अर्थमन्त्री हुँदा सेयर बजार विगतमा पनि बढेको भन्दै समाजिक सञ्जालमा नै सेयर लगानीकर्ता सक्रिय देखिन्छन् । जसले बजार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । तर, बजारलाई सपोर्ट गर्नेगरी आर्थिक फन्डामेन्टमा भने कुनै परिवर्तन वा नीतिगत परिर्वतन भएको छैन ।
सोमबार नेप्सेमा १ करोड २० लाख २९ हजार ६०३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८८ करोड ४३ लाख ९७ हजारको कारोबार भएको छ । जुन कारोबार रकम पछिल्लो चार महिना यताकै उच्च हो । मंगलबार कारोबार भएकामध्ये लक्ष्मी बैंकको सर्वाधिक २० करोड ९४ लाख ९१ हजारको कारोबार हुँदा नेपाल दुरसञ्चार कम्पनीको १४ करोड २ लाख ८ हजार र हिमालयन डिस्टिलरीको १२ करोड १४ लाख ९७ हजारको कारोबार भएको छ ।
मंगलबार नेप्सेमा कुल २१२ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा २०२ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ८ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै २ कम्पनीको सेयर मूल्य भने स्थिर छ । मंगलबार कारोबार भएकोमध्ये सिद्धार्थ इन्स्योरेन्स, मल्टिपपर्स फाइनान्स, अजोड इन्स्योरेन्स र सृजनशील लघुवित्तको सेयर मूल्य १० प्रतिशत तथा धौलागिरी लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशत, कालिका पावर कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर सर्किट मूल्यमा बन्द भएको छ ।
आँधीखोला लघुवित्तको सेयर मूल्य सर्वाधिक २.६३ प्रतिशतले गिरावट हुँदा मिर्मिरे लघुवित्तको सेयर मूल्य २.२२ प्रतिशत र सीवाईसी नेपाल लघुवित्तको सेयर मूल्य १.८६ प्रतिशतले गिरावट भएको छ ।
प्रतिकृया दिनुहोस