भाइटीकाको साइत कात्तिक १० गते बिहान ११ : ३७ बजे उत्तम

Vai tika

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्वको साइत सार्वजनिक गरेको छ । जसअनुसार कात्तिक १० गते बिहीबार बिहान ११ : ३७ बजे भाइटीकाको साइत उत्तम छ ।

यमपञ्चक कात्तिक ५ गते शनिबार सुरु हुनेछ । कात्तिक ५ गते शनिबार यमदीपदान सुरु गरिन्छ । यमपञ्चकका अवसरमा दीपदान गर्नाले यम यातना नपाइने धार्मिक विश्वास छ । धनत्रयोदशी (धनतेरस) पर्व पनि त्यसै दिन मनाउनुपर्ने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

कात्तिक ६ गते आइतबार कागतिहार (काकबली) पर्व परेको छ । धनवन्तरी जयन्ती पनि त्यसै दिन मनाइन्छ । कात्तिक ७ गते सोमबार कुकुर तिहार पर्व मनाइन्छ। त्यसै दिन नरकचतुर्दशी अर्थात् बिहान झिसमिसेमै तेल लगाएर स्नान गरी नरक बालेर बगाइन्छ ।

यस वर्ष दीपमालिका एवं लक्ष्मीपूजा पर्व पनि कात्तिक ७ गते सोमबार नै रहेको उनले बताए । लक्ष्मीपूजाको रात्रिलाई सुखरात्री पनि भनिन्छ । कात्तिक ८ गते मङ्गलबार गाईपूजा गरिन्छ। यस दिन सूर्यग्रहण पनि परेको छ ।

कात्तिक ९ गते बुधबार गोवर्द्धनपूजा, बलिपूजा, हलितिहार, गोरुपूजा, आत्मपूजा (म्हपूजा) का साथै नेपाल संवत्को नयाँ वर्ष आरम्भ पनि यसै दिन परेको छ। कात्तिक ९ गते बुधबार नेपाल संवत् ११४३ आरम्भ हुँदै छ ।

कात्तिक १० गते बिहीबार तिहारको मुख्य दिन हो । यस दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाई आशीर्वादसहित दीर्घायुको कामना गर्दछन् । नेवारी समुदायले किजापूजाका नाममा मनाउने पर्व पनि यसै दिन परेको समितिले जनाएको छ ।

यस दिन साइत खोज्नेले बिहान ११ : ३७ बजे उत्तर फर्केर टीका लगाउनु उत्तम रहेको समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए । सर्वसाधारणका लागि त्यस दिन दिनभर टीका लगाउनु शुभ रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय