मी टुले मेयरका उम्मेदवार केशव स्थापितलाई तनाव, मञ्चमै यसरी आक्रोसित बने
काठमाडौं । काठमाडौंको मेयर पदका प्रत्याशीहरुलाई बिहिबार काठमाडौंको नेसनल कलेजमा अन्तरक्रियाका लागि निम्त्याइएको थियो । तर, प्रत्याशीहरुमाथि अतिरञ्जित र व्यक्तिगत लाञ्छनायुक्त आरोपले विषयवस्तु डाइभर्ट भयो र सिंगै कार्यक्रमको माहोल विथोलियो ।
मीटुबारेको प्रश्नले नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर पदका उमेदवार केशव स्थापित आक्रोशित बनेका छन् । बिहीबार भएको एक अन्तरक्रिया कार्यक्रममा उनको चरित्रमाथि प्रश्न गर्दै सहभागीले कडा प्रश्न गरेपछि उनी आक्रोशित बनेका हुन ।
स्थापितलाई एक जना सहभागीले उनीमाथि लाग्दै आएको ‘मिटू’को आरोपबारे प्रश्न सोध्न खोजिन् । प्रश्न राख्नुअघि सञ्चालकले सहजीकरण गर्दै भने, ‘हुन त आज सकेसम्म उम्मेदवारलाई निजी प्रश्न नसोध्नु भनेका थियौं, तर यो प्रश्न रोक्न सकिने खालको छैन ।’
कार्यक्रममा वक्ताका रुपमा थिए स्थापितसँगै मेयरका अन्य उम्मेदवारहरू बालेन शाह, समीक्षा बाँस्कोटा, सुशील थापा र राजन कोइराला । अन्तरक्रियाकै क्रममा भावना राउत नामकी महिलाले सोधेको प्रश्नपछि तनावको अवस्था सिर्जना भएको हो ।
सुरुवातमा ‘फेस टु फेस’ सबै प्रश्नको जवाफ दिने बताएका स्थापित सहभागी भावना राउतले सोधेको प्रश्नमा गैरजिम्मेवार शैलीमा प्रस्तुत मात्र भएनन्, उल्टै राउतलाई धम्की समेत दिएका छन् ।
उनले राउतलाई ‘यु आर नाइस लेडी बट थुतुनो ठिक भएन’ भनेर सार्वजनिक मञ्चबाट आपत्तिजनक टिप्पणी गरेका हुन् । साथै, स्थापितले प्रश्नको खण्डन गर्ने क्रममा ‘म भोलि यो महिलाले प्रोस्टिच्यूसन ९वेश्यावृत्ति० गर्छ भनेर छपाउँ’ भनेर पनि धम्की दिएका छन् ।
‘मेरो प्रश्न केशव स्थापित सरलाई’ भन्दै प्रश्न सुरु गरेकी उनले 'तपाईँको विगतलाई हेर्दा तपाईँलाई दुई जना महिलाले मीटुको आरोप लगाएका छन् । तपाईँले मेयर जितेपछि म तपाईँको अफिस जाँदा सेफ हुन्छु कि हुँदिन ?’ भन्दै उनले कडा प्रश्न गरेकी थिइन् । उनी यतिमा मात्रै रोकिइनन्, ‘अथवा तपाईँकै उपमेयर सुनिताजी सेफ हुनुहुन्छ कि हुनुहुन्न ? तपाईँको अपराध गरेको हो कि होइन यदि होइन भने प्रमाणसहित आउनुहोस् हो भने तपाइँ यो कुर्सी छाडेर जानुपर्ने हुन्छ ।’
यति भनेपछि सहभागीले हुटिङ गरेका थिए भने सम्हालिँदै स्थापितले यसको जवाफ दिने भनेर सविस्तार आफ्नो बचाउ गरे ।राउतले स्थापितलाई मात्र महिला हिंसाबारे प्रश्न सोधिनन् । उनले स्वतन्त्र उम्मेवार बालेन्द्र शाह (बालेन) लाई पनि पुराना र्याप गीत महिलाप्रति असंवेदनशील भएर गाएको भन्दै प्रश्न सोधिन् । साथै, उनले माफी माग्न पनि भनेकी थिइन् ।
उनले बालेनलाई भनेकी थिइन्, ‘विगतमा मैले तपाईंका गीत सुनेको छु, र्यापहरु हेरेको छु, त्यसमा महिलालाई कुन चाहिँ दर्जामा राख्नु भएको छ भनेर पनि देखेको छु । आज तपाईंले पब्लिक स्पेसमा आएर बाल्दै गर्दा यी सबै महिला भोटरहरुसँग माफी माग्ने कि नमाग्ने ? उनीहरुलाई फेरि म यस्तो गर्दिनँ भनेर भन्ने कि नभन्ने ।’
उनले स्थापितप्रति आफ्नो कुनै नियत नभएको र सार्वजनिक सरोकारको प्रश्न मात्र राखेको बताइन् । ‘मैले आरोप लगाएको होइन, प्रश्न सोधेको हो । प्रश्न सोध्ने हक सबैको हुन्छ’ राउत भन्छिन्, ‘मैले प्रश्न सोध्दा यत्रो हंगामा होला भन्ने सोचेकै थिइनँ, भोलिका दिनमा उहाँमाथि फेरि यो प्रश्न नफर्कियोस् भनेरै मैले सोधेकी थिएँ ।’ तर मेयरको उम्मेदवार जस्तो व्यक्तिले दिएको अभिव्यक्तिले आफ्नो चित्त दुखेको उनले बताइन् ।
लेखक रिता साह स्थापितले कार्यक्रममा दिएको अभिव्यक्तिले उनी महिलाप्रति कति असंवेदनशील छन् भन्ने देखाउने बताउँछिन् । ‘आज उहाँ जसरी प्रस्तुत हुनु भयो, त्यो एकदमै नराम्रो कुरा हो’ साहले भनिन्, ‘सार्वजनिक जीवनका व्यक्तिले आफूमाथि कुनै पनि प्रश्न उठ्दा संयम भएर जवाफ दिनुपर्ने हो, तर उहाँको बोलाई लैंगिकरुपमा संवेदनशील भएन ।’
स्थापितको यो अभिव्यक्ति सार्वजनिक मञ्चबाट जिम्मेवार व्यक्तिले महिलामाथि गरेको हिंसाकै अर्को रुप भएको महिला अधिकारकर्मी एवं विश्लेषक सरिता तिवारी बताउँछिन् ।
प्रतिकृया दिनुहोस