धनकुटा पाख्रीबासमा एमालेका उपमेयर र वडाध्यक्ष उम्मेदवारविरुद्ध उजुरी
धनकुटा । एमालेको बलियो पकड मानिएको धनकुटाको पाख्रिबासमा एमालेका २ जना विरुद्ध पदमा बहाल रहँदा प्रचलित ऐन भन्दा बढी सेवा सुविधा लिएको भन्दै उजुरी परेको छ ।
नेकपा एमालेको तर्फबाट पाख्रीबास नगरपालिकाको उपमेयर पदका उम्मेदवार नम्रता देउजा गौतम र सोही पाटीबाट वडा नं. १० को वडाध्यक्ष पदका उम्मेदवार हरिहादुर खत्रीविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो ।
उनीहरु विरुद्धको उजुरी पत्रमा पदमा रहँदा प्रचलित ऐन भन्दा बढी सेवासुविधा लिएको आरोप लागेको जिल्ला निर्वाचन कार्यालय धनकुटाका प्रमुख जयराम श्रेष्ठले बताए ।
उपमेयर पदकी उम्मेदवार गौतम अघिल्लो कार्यकालमा पाख्रीबास नगरपालिकाको कार्यपालिका सदस्य थिइन् । वडाध्यक्ष पदका उम्मेदवार खत्री १० नं. वडाका निवर्तमान वडाध्यक्ष समेत हुन् ।
बुधबार र बिहीबार मनोनयन पत्र जाँचवुझको समय रहेको हुँदा बिहीबारसम्म उजुरीको सुनवाइ हुने कार्यालय प्रमुख श्रेष्ठले बताए । उनका अनुसार उजुरीमा उल्लेखित कुरा प्रमाणित भए उम्मेदवारी खारेज हुने र यदी गलत भए उम्मेदवारले क्लिन चिट पाउने छन् ।
गत स्थानीय तहको निर्वाचनमा एमालेले सबै सिट जितेर क्लीन स्वीप गरेको थियो । पार्टी विभाजनपछि पनि वडा नं. ४ का वडाध्यक्ष सोवित निरौलाबाहेक ५१ जना जनप्रतिनिधि एमालेमै छन् । यद्यपि उपप्रमुख देउजा र खत्री माथि परेको उजुरी प्रमाणित भए एमालेलाई ठूलो धक्का लाग्ने छ । तर, १ जना दलित महिला जनप्रतिनिधि तर्फ नेपाली कांग्रेसबाट निर्विरोध भइसकेका कारण क्लीन स्वीप गर्ने सम्भावना छैन ।
प्रतिकृया दिनुहोस