उम्मेदवारविरुद्धको उजुरीमाथि छानबिन सुरु : अन्तिम नामावली भोलि, शनिबार चुनाव चिह्न
काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनका लागि दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले आजदेखि (जाँचबुझ) छानबिन थाल्ने भएको छ ।
आइतबार र सोमबार मनोनयन दर्ता भएकोमा मंगलबार उम्मेदवारविरुद्ध उजुरी आह्वान भएको थियो । प्राप्त उजुरीमाथि आज र भोलि जाँचबुझ हुने निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिएका छन् । आज र भोलि छानबिन गरेर आयोगले निर्णय लिनेछ ।
आयोगले बिहीबारै उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी गरेको छ । १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुने छ । आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।
७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि मनोनयन साढे एक लाखले उम्मेदवारी दिएका छन् । देशभरका २९३ नगरप्रमुखमा ३४६७ जनाको उम्मेद्वारी परेको छ । उपप्रमुखमा २ हजार १३५ उम्मेद्वारी परेको छ ।
६७४३ वडामा ३४ हजार ९३९ जनाले उम्मेद्वारी दिएका छन् । ६७४३ वडामा एउटा महिला वडा सदस्य र एकजना दलित महिला सदस्य रहन्छन् । महिला सदस्यमा २६ हजार ५७ जनाको मनोनयन परेको छ ।
महिला दलित सदस्यमा २३ हजार ४६१ जनाको मात्रै मनोनयन परेको छ । स्थानीय तहका पदको तुलनामा सबैभन्दा कम अनुपातमा उम्मेद्वारी परेको यही पद हो ।
प्रतिकृया दिनुहोस