कैलालीको मुक्तकमैया शिविरमा भीषण आगलागी, ५० भन्दा बढी घरहरु जले
धनगढी । कैलालीको मुक्त कमैया शिविरमा भीषण आगलागी भएको छ । जिल्लाको कैलारी गाउँपालिका–७ को रामपुरमा रहेको विपतपुर शिविरमा आइतबार दिउँसो आगलागी भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सोमेन्द्र सिंह राठौरका अनुसार आइतबार दिउँसो भएको आगलागीबाट ५० भन्दा बढी घरहरु जलेका छन् । खेतमा गहुँको नल बाल्न लगाइएको आगो हावाको माध्यमबाट शिविरमा लागेको बताए । उनका अनुसार दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहे पनि हावाहुरी चलेका कारण समस्या भएको छ ।
आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीको टोली, कैलाली प्रहरी, स्थानीय र २ ओटा दमकलले प्रयास गरिरहेका छन् तर आगो नियन्त्रणमा आएको छैन । हालसम्म क्षति र आगलागीको कारण खुलेको छैन ।
प्रतिकृया दिनुहोस