जुम्लाको सार्कीबाडामा आगलागीबाट एकै घरका ३ जनासहित ४ बालबालिकाको मृत्यु
जुम्ला । जुम्लाको तिला गाउँपालिका ३ सार्कीबाडामा आगलागी हुँदा एकै घरका तीनसहित चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १४ वर्षीया तिर्सना सार्की, ११ वर्षीया अनु सार्की, ३ वर्षीया दर्शना सार्की र १ वर्षीय दिपेश सार्की रहेका छन् ।
मृत्यु हुनेहरुमा तीन जना मानसिंहका छोराछोरी हुन् । १४ वर्षीया तिर्सना भने मानसिंह सार्कीकी भान्जी हुन् । चार दिनअघि उनी मामाको घरमा आएकी थिइन् । घटनापछि मानसिंह सार्की, फागुनी सार्की र मानसिंहकी बहिनी रुन्चकली सार्की बेहोस अवस्थामा छन् । उनीहरुलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचारका लागि ल्याइएको प्रहरीले जनाएको छ ।
आगलागीले तीनतले घरको दुई तला पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । सदरमुकाम खलंगादेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो । मानसिंहको परिवार राति कामको लागि घर बाहिर निस्केको र घरमा फर्कँदा आगो लागेर घर जलिरहेको देखेको प्रहरीले जनाएको छ ।
‘आगलागीबारे राति ११ः४५ बजे हामीलाई जानकारी भयो’ जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले भने, ‘सूचना पाउने बित्तिकै जिल्लाबाट प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंसहितको टोलीले त्यहाँ पुगेर आगो नियन्त्रणमा लियो ।’ आगलागीबाट घरको दोस्रो र तेस्रो तला पूर्णरुपले क्षति भएको उनले बताए ।
आगलागीका कारण बेहोस भएका मानसिं र उनकी श्रीमती फागुनी तथा बहिनी रुन्चकलीलाई उपाचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ ।
प्रतिकृया दिनुहोस