आफैँलाई गोली हान्ने शमशेरदल गणमा कार्यरत सिपाही कोपिला राजवंशीको मृत्यु
काठमाडौं । आफैँलाई गोली हानेकी कपिलवस्तुस्थित शमशेरदल गणमा कार्यरत सिपाही कोपिला राजवंशीको मृत्यु भएको छ ।
बुधबार साँझ ७ बजेतिर घटना भएको थियो । उनको छाती र पेटमा दुईवटा गोली लागेको बताइएको छ । के कति कारण उनले आफैंलाई गोली हानिन् भन्ने खुलिसकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको छ ।
कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जेसी शाहका अनुसार भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा बिहान उनको मृत्यु भएको हो ।
‘आज बिहान साढे ६ बजेतिर हामीलाई खबर आयो उहाँको निधन भयो,’ सूचना अधिकृत शाहले जानकारी दिए । उनका अनुसार उपचारका लागि राति नै काठमाडौं लाने तयारी गरिए पनि हेलिकप्टर नआएकाले भैरहवामै उपचार गरिएको थियो ।
कपिलवस्तुको शमशेरदल गणमा कार्यरत सिपाही राजवंशीले आफ्नै पेटमा गोली हानेकी थिइन् । ड्युटीमा रहेको बेला आफैँले बोकेको एम १६ राइफलले गोली हानेको डीएसपी शाहले जानकारी दिए ।
प्रतिकृया दिनुहोस