शुक्रबार किन नेपाल आउँदैछ अमेरिकी पाँच सांसद ? यस्तो छ कारण ...

Americi samsad nepal

काठमाडौं । अमेरिकी सिनेटर कर्स्टन गिलिब्रान्ड पाँच सांसद सहभागी टोलीको नेतृत्व गर्दै यही शुक्रबार नेपाल आउँदैछिन् । भ्रमणमा उनका साथमा सिनेटर कोरी बुकर, सिनेटर मार्क केली, एड मार्की र प्रतिनिधि सभा सदस्य मोन्डेअर जोन्स रहनेछन् ।

पाँच मुलुकको नौ दिने यात्रामा निस्केका अमेरिकी सांसदहरु भारत भ्रमणपछि काठमाडौँ आउनेछन् । भारतअघि उनीहरु युरोपेली मुलुक पोल्यान्ड र जर्मनी तथा खाडी मुलुक संयुक्त अरब एमिरेट्स भ्रमणमा जानेछन् ।

अमेरिकी सांसदको सो टोलीले नेपालमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का र विभिन्न राजनीतिक दलका नेता र सांसदसँग भेटवार्ता गर्नेछ ।

अमेरिकी सांसद टोलीले आफ्नो भ्रमण दुई वटा विषयमा केन्द्रित रहने उल्लेख गरेको छ । भ्रमण टोलीले आइतबार जारी गरेको वक्तव्य अनुसार भ्रमणको पहिलो उदेश्य युक्रेन मामिलामा समर्थन जुटाउनु हो भने दोश्रो नेपालसँग अमेरिकाको द्विपक्षीय सम्बन्ध थप विस्तार गर्नु हो ।

अमेरिकी सांसद टोलीले भ्रमणअघि वक्तव्य जारी गर्दै विश्वमा बढ्दो तनावबीच पोल्यान्ड, संयुक्त अरब एमिरेट्स, भारत, नेपाल र जर्मनीको भ्रमणमा जान लागेको जनाएको थियो ।

‘यो सशक्त कंग्रेसनल डेलिगेसनले पोल्यान्डस्थित अमेरिकी सैन्य नेतृत्व र सैनिक जवानहरूसँग भेटवार्ता गर्नेछ। अमेरिका र नेटो गठबन्धनमा रहेका मुलुक मिलेर रुसले युक्रेनमाथि नाजायज र अन्यायपूर्ण रुपमा गरेको हमलाका विरुद्ध कसरी काम गर्न सक्छन् भन्नेबारे बुझ्नेछ । अहिलेको विश्वव्यापी तनावबीच कंग्रेसनल डेलिगेसनले पोल्यान्ड, युएई, इन्डिया, नेपाल र जर्मनीका नेताहरुसँग भेटेर सम्बन्ध सुदृढ गर्नेबारे पनि छलफल गर्नेछ,’ वक्तव्यमा भनिएको छ ।

नेपाल आउनुअघि नयाँदिल्लीमा अमेरिका सांसदको टोलीले त्यहाँको राजनीतिक नेतृत्वसँग भेट्नेछ। युक्रेन मामिलामा भारत रुसका पक्षमा उभिएपछि अमेरिका भारतसँग असन्तुष्ट छ ।

यता नेपालले युक्रेन संकटबारे भएका चार वटा मतदानमा युक्रेनको पक्षमा मत दिएको छ । अघिल्लो साता रुसलाई संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यबाट हटाउन राष्ट्रसंघमा भएको मतदानमा बाहेक नेपाल अन्य मतदानमा युक्रेनको पक्षमा देखियो थियो।

अमेरिका र अन्य पश्चिमा मुलुकको इसारामा युक्रेनको पक्षमा मत दिएर नेपालले असंलग्न विदेश नीति त्यागेको भन्दै सरकारको आलोचना पनि भयो । यद्यपि, परराष्ट्र मन्त्रालयले नेपालले युुक्रेन मामिलामा स्वतन्त्र विदेश नीति अँगालेको छ । साथै मन्त्रालयले सार्वजनिक रुपमा असंलग्न विदेश नीतिमा सरकारको प्रतिबद्धता जनाएको छ ।

नेपाल भ्रमणमा अमेरिकी सांसदले युक्रेन मामिलामा नेपालले अहिले लिएको अडान कायमै राख्न सुझाव दिने बताइसकेको छ । अमेरिकी सांसदको भ्रमण नेपाल–अमेरिका कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औं वर्षगाँठको अवसर पारेर हुन लागेको छ ।

को हुन् गिलिब्रान्ड ?
गिलिब्रान्ड सत्तारुढ डेमोक्र्याटिक पार्टीका तर्फबाट अमेरिकी माथिल्लो सदन सिनेटकी सदस्य हुन् । उनले सिनेटमा न्युयोर्क राज्यलाई प्रतिनिधित्व गर्छिन् । पहिलो पटक उनी सन् २००९ मा सिनेटर भएकी थिइन् ।

प्रभावशाली नेतृ हिलारी क्लिन्टन अमेरिकी विदेश मन्त्रीमा नियुक्त भएपछि रिक्त हुन आएको सिनेटर पद गिलिब्रान्डले सम्हालिन् । क्लिन्टन न्युयोर्ककी तत्कालीन सिनेटर र पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनकी पत्नी हुन् । त्यसअघि उनी सन् २००७ देखि २००९ सम्म अमेरिकी तल्लो सदन प्रतिनिधि सभाकी सदस्य थिइन् ।

सन् २०१८ मा न्युयोर्क राज्यबाटै गिलिब्रान्ड सिनेट सदस्यमा निर्वाचित भएकी थिइन् । त्यसपछि उनले सन् २०१९ मार्चमा अमेरिकी राष्ट्रपति पदका लागि उम्मेवारी घोषणा गरिन् । तर अगस्ट २०१९ मा उनले राष्ट्रपति पदका लागि हुने निर्वाचनमा सहभागी नहुने घोषणा गरिन् ।

गिलिब्रान्ड जनवरी २०२५ सम्म सिनेटर रहनेछिन् । सिनेटका कमिटी अन एजिङ्, कमिटी अन एग्रिकल्चर, न्युट्रिसन एन्ड फरेस्ट्री, कमिटी अन इन्टेलिजेन्स र कमिटी अन आर्म्ड सर्भिसेसमा गिलिब्रान्ड छिन् । यी समिति मातहतका दर्जनौँ उपसमिति पनि उनले हेर्ने गर्छिन् ।

सिनेटर बन्नुअघि उनले निकै वर्ष वकिलका रुपमा काम गरिन् । सन् १९६६ मा न्युयोर्कको अल्बानीमा जन्मिएकी उनले सन् १९८८ मा अमेरिकाको डार्टमथ कलेजबाट एसियन स्टडिजमा स्नातकोत्तर गरेकी थिइन् । उनले सन् १९९१ मा युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट कानुनमा स्नातकोत्तर गरेकी थिइन् ।

गिलिब्रान्डले अमेरिकामा ‘मी टु’ सिनेटरको समेत छवि बनाएकी छिन् । उनले अमेरिकी महिलाहरूले कार्यस्थलमा आफूमाथि भएको यौन दुव्र्यवहारविरुद्ध आवाज उठाउनका लागि सुरु गरेको ‘मी टु’ अभियान अघि बढाउन नेतृत्वदायी भूमिका खेलकी थिइन् । डोनाल्ड ट्रम्प राष्ट्रपति रहँदा १७ अमेरिकी महिलाले यौन हिंसाको आरोप लगाए । त्यसपछि सिनेटर गिलिब्रान्डले ट्रम्पलाई राजीनामा दिन सुझाएकी थिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...