महानगर र उपमहानगरमा सिट बाँडफाँट गर्न गठबन्धनको बैठक बस्दै
काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरपालिकाको चुनावी तालमेलबारे टुंगोमा पुग्न सत्ता गठबन्धनको बैठक बस्दैछ । महानगर र उपमहानगरपालिकाको भागवण्डा टुंग्याउन सोमबार बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।
स्थानीय तहको निर्वाचन आउन २५ दिन बाँकी छ। निर्वाचन आयोगले वैशाख ११ र १२ गते मनोनयनका लागि समय तोकेको छ । मनोनयन दर्ता गर्न ६ दिन मात्र बाँकी रहँदा सत्ता गठबन्धनले आज महानगर र उपमहानगरपालिकाका उम्मेदवार टुंग्याउने तयारी गरेको छ ।
भागबन्डा टुंग्याउन आज बिहान ९ बजे सत्ता गठबन्धन दलका नेता सम्मिलित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।
हालसम्म नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाले ६ वटा महानगर र ११ वटा उपमहानगरको उम्मेदवारका लागि आआफ्नै अडान कायम राखेका छन् ।
नेकपा माओवादी केन्द्रले भरतपुर महानगरसहित ४ उपमहानगर, नेकपा एकीकृत समाजवादीले पोखरा महानगरसहित तीन उपमहानगर र जनता समाजवादी पार्टीले वीरगन्ज महानगरसहित तीन उपमहानगरपालिकामा दाबी गरेको समाचार बाहिरिएका छन् ।
माओवादी केन्द्रले भरतपुर महानगरपालिकासँगै धरान, जितपुर सिमरा, हेटौंडा र घोराही उपमहानगरपालिकामा दाबी गरेको छ । आइतबार बसेको गठबन्धन बैठकमा दलहरुले आ आफ्नो दाबी प्रस्तुत गरेका थिए ।
प्रतिकृया दिनुहोस