संखुवासभामा गठबन्धनबीच मिलेन कुरा, माओवादीसँग चुनावी तालमेल नहुने कांग्रेसको दावी
संखुवासभा । स्थानीय चुनावमा सत्तारुढ गठबन्धनका दलहरुबीच जिल्ला स्तरमा सहमति जुट्न सकेन । लगातार पाँच दिनसम्म खाँदबारीमा चलेको सत्तारुढ गठबन्धनको बैठकले तालमेलको सहमति जुटाउन नसकेको हो ।
शुक्रबार पनि गठबन्धनको बैठक बसेको थियो । तर भागबण्डाको कुरा नमिलेपछि गठबन्धनका नेताहरुबिना निष्कर्ष उठेका छन् । गठबन्धनका संयोजक एवम् कांग्रेस सभापति दीपक खड्काले भने माओवादी केन्द्रसँग गठबन्धन हुने सम्भावना सकिएको बताए ।
कांग्रेस र माओवादी केन्द्रबीच भागबण्डामा कुरा नमिलेपछि संखुवासभामा पाँच दलीय गठबन्धन नहुने अवस्था आएको गठबन्धनका जिल्ला संयोजक तथा कांग्रेस सभापति दीपक खड्काले बताएका छन् ।
खाँदबारीमा ४ दिनसम्म गठबन्धनको बैठक बसेको थियो । बुधबार बेलुकीको बैठकमा भागबण्डा मिलेपछि बिहीबार बिहान सहमति पत्रमा हस्ताक्षर गरी सार्वजनिक गर्ने तयारी गरिएको थियो । तर नेकपा माओवादी केन्द्रले अन्तिम समयमा सहमतिमा हस्ताक्षर गर्न नमानेपछि संखुवासभा जिल्लामा गठबन्धनको सम्भावना समाप्त भएको सभापति खड्काले बताए ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गर्ने सहमति भएको थियो ।
गएको २०७४ को निर्वाचनमा संखुवासभामा कांग्रेसले दुई नगरपालिका सहित ५ स्थानीय तह जितेको छ । बाँकी स्थानीय तह नेकपा एमालेले जितेको छ । संखुवासभामा ५ नगरपालिका र ५ गाउँपालिका छ ।
प्रतिकृया दिनुहोस