निर्वाचन आयोगले कुलमानलाई भन्यो, ७ दिनभित्र चित्तबुझ्दो जवाफ चाहियो
काठमाडौं । निर्वाचन आयोगले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीलाई स्पष्टीकरण सोधेको छ ।
आयोगको बिहीबारको बैठकले घिसिङ र अधिकारीलाई निर्वाचन आचारसंहिता मिचेकोबारे प्रष्टीकरण सोधेको आयोगका एक अधिकारीले जानकारी दिए । दुवैलाई पत्र पठाएर ७ दिनभित्र आयोगका प्रश्नको चित्तबुझ्दो जवाफ दिन भनिएको छ ।
निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै आयोगले उनीसँग स्पष्टीकरण सोधेको हो । नेकपा माओवादी केन्द्रले घिसिङको फोटो राखेर निर्वाचन प्रचार सामग्री बनाएको थियो ।
माओवादीको चुनावी पोष्टरमा फोटो राखी प्रचारप्रसार गरिएको विषयमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएको समाचारप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको भन्दै ७ दिनभित्र चित्तबुझ्दो जवाफ दिन आयोगले घिसिङलाई स्पष्टिकरण सोधेको हो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले उर्जासम्बन्धी निर्वाचन प्रचार सामग्री सामाजिक सञ्जाल फेसबुकमा राखेका थिए । जसमा अध्यक्ष दाहाल, अर्थमन्त्री जनार्दन शर्मा र घिसिङको तस्बिर थियो । घिसिङले सार्वजनिकरुपमा आफ्नो तस्बिर निर्वाचन सामग्रीमा राखिएकोप्रति आपत्ति जनाउँदै हटाउन भनेका थिए । त्यसपछि उनको तस्बिर माओवादीले पोस्टरबाट हटाएको थियो ।
'तपाईंको समेत फोटो राखी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को चुनावी पोष्टर सार्वजनिक भएकोमा त्यसमा तपाईंको सहमति रहेको हो होइन ?,' आयोगले घिसिङलाई सोधेको छ, 'उक्त पोष्टरमा तपाईंको फोटो राखिएको विषयमा तपाईंको सहमति रहेको होइन भने सो विषयमा तपाईंले हालसम्म सार्वजनिकरुपमा किन आपत्ति जनाउनु भएको छैन वा उजुर गर्नुभएको छैन ?'
निर्वाचन आचारसंहिता, २०७८ को दफा ६ को खण्ड (क) मा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारी समेतले पालना गर्नुपर्ने आचरण उल्लेख गरिएको छ । घिसिङको तस्बिर चुनावी पोस्टरमा राख्नुले उक्त व्यवस्था उल्लंघन भएको आयोगको भनाइ छ । आयोगले किन कारबाही गर्न नपर्ने हो भन्नेबारे स्पष्ट पार्न भनेको छ ।
बिहीबार भएको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिता उल्लङ्घनबारे बाहिर आएका विषयलाई आयोगले नोटिसमा राखेको जनाएका छन् ।
‘तिनलाई आयोगले नोटिस गरिरहेको छ । जसमध्ये कतिपयलाई आयोगले पत्राचार गरिसकेको छ भने कतिपयको अध्ययन भइरहेको छ’, पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले भने,‘त्यसका आधारमा उहाँहरूसँग बुझ्ने, स्पष्टता खोज्ने र त्यसपछि आवश्यक कारवाही आयोगले गर्छ ।’ साथै निर्वाचन आयोगले आयोगमा दर्ता भएका दल मात्रै चिन्ने भन्दै सोही दलका उम्मेदवार रेकर्डमा रहने बताए ।
त्यस्तै निर्वाचन आयोगले गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई पनि स्पष्टीकरण सोधेको छ । उनले बुधबार पोखरामा आयोजित कार्यक्रममा आफूले निर्वाचन खर्च विवरण ढाँटेर पेश गरेको बताएका थिए । आयोगले उनलाई पत्र लेखी निर्वाचन आयोगमा बुझाएको विवरण सही हो वा होइन भनी प्रश्न गरेको छ ।
‘तपाईंले निर्वाचन आयोगमा खर्चको विवरण बुझाउँदा यो विवरण सही होइन भनी कुनै फरक मत दर्ता गराउनुभएको थियो थिएन ?’ आयोगका उपसचिव सुभासकुमार भट्टराईले पठाएको पत्रमा भनिएको छ ।
प्रतिकृया दिनुहोस