सङ्खुवासभाका ८ मतदानस्थल अति संवेदनशीलको सूचीमा
सङ्खुवासभा । सङ्खुवासभाका ८ वटा मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको छ । स्थानीय तह निर्वाचनका लागि जिल्ला सुरक्षा समिति सङ्खुवासभाले ८ वटा मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेको हो ।
जिल्लाका एक सय ३ ओटा मतदानस्थल मध्ये सुरक्षा संवेदनशीलताको हिसाबले ८ ओटा मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले जानकारी दिए ।
एक सय ३ ओटा मतदानस्थल मध्ये १६ वटा मतदानस्थल सामान्य, ७९ वटा संवेदनशील, ८ वटा अति संवेदनशील सूचीमा वर्गीकरण गरिएको सहायक प्रमुख जिल्ला अधिकार घिमिरेले बताए ।
भौगोलिक विकटता, सुरक्षा निकायको पहुँचदेखि टाढा, यातायात र सञ्चारको असुविधा यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर संवेदनशील र सामान्य गरी मतदानस्थल तथा केन्द्र छुट्याइएको छ ।
अति संवेदनशील सूचीमा परेका मतदानस्थलमा सुरक्षा प्रबन्ध मिलाइने घिमिरेले बताए । अति संवेदनशील मतदानस्थलमा ३ हजार ४ सय ३८ जना मतदाता रहेका छन् । जिल्लामा ६० हजार ६ सय ७८ जना पुरूष र ५७ हजार ५३ जना महिला गरी १ लाख १७ हजार ७ सय ३१ जना मतदाता छन् । मतदान केन्द्रलाई तीन भागमा विभाजन गरी सुरक्षा व्यवस्था मिलाउने बताइएको छ ।
अति संवेदनशील मतदानस्थल तथा केन्द्रको सुरक्षा चुनौती हेरेर सोहीअनुसार सुरक्षाकर्मी परिचालन गरिने घिमिरेले बताए । निर्वाचन आयोगले १० वटै स्थानीय तहका लागि अधिकृत र निर्वाचन अधिकृत तोकिसकेको छ ।
प्रतिकृया दिनुहोस