एकीकृत समाजवादीले आज भृकुटीमण्डपमा जनसभा गर्ने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आज भृकुटीमण्डपमा जनसभा गर्दैछ । मुलुकमा बहुदलीय व्यवस्था पुनःस्थापना भएको दिनको अवसरमा पार्टीले अहिलेसम्म गरेका कार्यका साथै सङ्गठन सुदृढीकरण तथा विस्तारका अभियानबारे जानकारी दिन सभा गर्न लागेको हो ।
सभालाई सफल बनाउन जनवर्गीय सङ्गठनलाई तयारी तथा व्यवस्थापनको विशेष जिम्मेवारी दिइएको छ । उक्त सभालाई पार्टीका शीर्ष नेतृत्वले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
जनताका चाहनाअनुरुप समाजवादी यात्रालाई अगाडि बढाउन पार्टी स्थापनापछि देशभर भएका सङ्गठन निर्माण तथा विस्तारको अभियानमा जुटेको बताउँदै काठमाडौं जिल्ला कमिटी अध्यक्ष कुशुमकुमार कार्कीले केन्द्रीय अभियानअन्तर्गत काठमाडौँमा छोटो समयमै पार्टी निर्माणको कामलाई तीव्र ढङ्गले अगाडि बढाइएको जानकारी दिए ।
उनले स्थानीय तहको निर्वाचनमा काठमाडौंका सबै तहका साथै मोर्चामा सङ्गठन विस्तार तथा हरेक मोर्चाका नेता तथा कार्यकर्ता टोलटोलमा जनताको समस्या समाधानका लागि क्रियाशील रहने बताए ।
प्रतिकृया दिनुहोस