उपत्यकामा जोरबिजोर प्रणाली लागू, आज जोर नम्बरका सवारी यातायातका साधन चल्दै
काठमाडौं । कोभिड–१९ सङ्क्रमण तीव्र भएपछि त्यसलाई रोक्न काठमाडौँ उपत्यकामा आज बिहानैदेखि यातायातमा जोरबिजोर प्रणाली लागू गरिएको छ ।
काठमाडौँ, ललितपुर र भक्तपुरको संयुक्त बैठकको निर्णयानुसार जोरबिजोर प्रणाली लागू गरिएको हो । काठमाडौँ उपत्यकामा सार्वजनिक र निजी सवारी साधनमा जोर गते जोर तथा बिजोर गते बिजोर नम्बर प्लेटका सवारी साधन सञ्चालन हुने गरी उक्त प्रणाली लागू गरिएको हो ।
अबदेखि अर्काे सुचना नआएसम्म जोर गतेका दिन जोर नम्बर भएका सवारी साधनहरु चल्नेछन् भने विजोर गतेका दिन विजोर नम्बरका सवारी साधनहरु चल्ने छन् । आज भने जोर नम्बरका सवारी साधन चल्दैछन् ।
प्रशासनले सार्वजनिक सवारीमा सीट क्षमताभन्दा बढी यात्रु नराख्न, सबै यत्रुलाई मास्क अनिवार्य गर्न, सवारी साधनको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्ने गरी स्यानिटाइजरको व्यवस्था गर्न आदेश दिएको छ ।
यसैगरी जिल्लाभित्रका सबै सार्वजनिक र सरकारी निकायमा आलोपालोमा सेवा प्रवाहको उचित प्रबन्ध कार्यालय प्रमुखले गर्ने आदेशमा भनिएको छ । उक्त आदेश कार्यान्वयनका लागि आज बिहानैदेखि सुरक्षाकर्मीलाई ठाउँठाउँमा परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस