परिवर्तित सन्दर्भमा युवा नेतृत्व - सार्थक विद्रोही
युवा सामाजिक , आर्थिक , राजनीतिक , सांस्कृतिक , वैज्ञानिक तथा पर्यावरणीय परिवर्तनका आन्दोलनका आधार हो । कुनै पनि क्रान्तिकारी , परिवर्तनशिल र अग्रगामी युवाहरूलाई हेर्नुहोस , तपाईं उनिहरुमा परिवर्तनका उत्प्रेरक र आन्दोलनका उर्जा भेट्टाउनुहुन्छ। किन्तु निस्संदेह वर्तमान परिवेशमा कवि भूपी शेचरनले आफ्नो कविता हामी´ मा उल्लेख गरेको रङ्गरोगन छुटेका , टुटेका ,फुटेका , एउटा स्ट्राइकर´ द्वारा सञ्चालित पुरानो क्यारमबोर्डका गोटिजस्तै जस्तै बाँच्न विवश भएका हामी नेपाली युवाहरूमा के त्यो परिवर्तनका आन्दोलनलाई जरुरत पर्ने उत्प्रेरक , क्रान्तिको संवहन गर्न सक्ने र समृद्ध नेपालको भविस्य तय गर्न सक्ने स्पिरिट पाउँछौं त ? यो अहिलेको युवा जमात र सम्पूर्ण युवा आन्दोलनमाथि उठेको निरुत्तर भीमकाय प्रश्नहरुले भरिएको प्रश्नचिन्ह हो ।
नेपालको सामाजिक , आर्थिक र राजनीतिक परिवर्तनका संवहन गरेका विगतका २००७ सालको क्रान्ति , एकदलीय निरङ्कुश पञ्चायती व्यवस्था विरुद्धको २०३६ सालको विद्यार्थी आन्दोलन र २०४६ को जन आन्दोलन तथा निरङ्कुश , एकात्मक र सामन्तवादी राजतन्त्रको अन्त्य गरि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापन गर्न अहम भुमिका खेलेको महान एवं गौरवान्वित जनयुद्ध र २०६२/६३ को आन्दोलनका मोर्चाहरुमा अग्रपंक्तिमा रहेर युवाहरूले लडेका , बलिदान दिएका स्मृतिहरु हाम्रो मस्तिष्कमा ताजा छ्न। कुनै समयमा समाजमा भएका वर्गीय , जातीय , लैङ्गकि विभेद र उत्पीडनका विरुद्ध आवाज बुलन्द गर्ने , राष्ट्रियता स्वाधीनता , सार्वभौमसत्ता , लोकतन्त्र र मानवअधिकारको पहेरदारी गर्ने युवा र युवा आन्दोलन दिशाहिन गन्तव्य अघि बढ्दै गरेको र युवा आन्दोलनको औचित्यमाथि प्रश्नचिन्ह खडा भएको दु:खद र विडम्बनाको घडी अहिले विद्यमान छ। यसरी वर्तमान परिवेशमा युवा आन्दोलन निम्छरो बन्नु र यसको औचित्यमाथीनै प्रश्नचिन्ह खडा हुनुको कारण के हो ?
आजको दिन सम्म कुनै पनि सामाजिक रुपान्तरणको आन्दोलन युवाहरुको सहभागिता बिना सम्भवनै भएको छैन। किन्तु युवाहरूलाई केबल राजनीति पार्टीहरुले आफूलाई सत्तासम्म पुग्न आवश्यक पर्ने राजनीतिक प्रतिक्रियाको उत्प्रेरकका रुपमा प्रयोग गर्दै छाडेका छ्न। नेपालको सन्दर्भमा युवा आन्दोलनको औचित्यमाथि प्रश्न उठ्नु र आन्दोलन निम्छरो बन्नुको कारण युवा नेतृत्वको अभाव र युवाहरु राजनीतिक स्वार्थ र पदीय लाभांशमा लहसिनु हो।आजको युवा र विद्यार्थी राजनीति गर्ने युवाहरू राजनीतिक संस्कारले भन्दा पनि गुटउपगुटहरुबाट दिक्षित भएका छ्न ।आफू नजिकको कमरेड र दाइहरुको स्तुतिगायन गएर पाउने क्षेणिक लाभांशमा आज युवाहरू मग्नमुग्ध छ्न ।
साथै ` राजनीति फोहोरी खेल हो।´ भन्ने अर्को जमातका युवाहरू पब्जी खेल्न ,सामाजिक सञ्जालका भित्ताहरु फोटोहरुले रङ्गरोगन गर्न ,मिमि र ट्रोल सयर गर्न व्यस्त छ्न। जसले गर्दा भावी दिनमा नेतृत्वको संकट पर्ने देखिन्छ। अपवादमा केही युवाहरु बाहेक अनगिन्ती युवाहरू आदर्श र सिद्धान्तलाई व्यावहारिक रुप दिने प्रयत्न गर्नुको सट्टा त्यसको खाली गुण गाएर हिँड्ने , न्यायको माहात्म्य गाएर स्वयं अन्याय गर्न पछि नपर्ने र विश्व बन्धुत्व र देशभक्तिको बयान गरेर खुद मानवताको विपरीत र देश भाँड्ने काम गर्दै छ्न। यस्तो अवस्थमा के हामीले यहीँ युवाहरूको जमतबाट परिवर्तनका उत्प्रेरक , वैज्ञानिक समाजवादी क्रान्तिको संवहन पूरा गर्न सक्ने , पुजीवादी अर्थव्यवस्थालाई परास्त गरि समाजवादको निर्माण गर्न अग्रपंक्तिमा नेतृत्व गर्न सक्ने युवा नेतृत्व पाउँछौं ?
नेपालको कुल जनसंख्याको करिब ४०.३५ % जनसंख्या युवाहरूले ओगटेको छ।परन्तु कुल जनसंख्याका यी ४०.३५ % युवाहरुको प्रतिनिधित्व गर्ने युवा नेतृत्वलाई दिउँसोनै बत्ती बालेर खोज्दा पनि भेटाउन सिक्दैन। युवा नेतृत्वको खाँचो र खडेरी हुनु अनि युवा आन्दोलन निम्छरो हुनुको दोष कसलाई दिने ? मेरो भनाइको चेष्टा के हो भने युवाहरूको आवाज बुलन्द गर्ने , युवा र सत्ताबीचमा सेतुको काम गर्ने युवा नेतृत्वको खडेरी छ। यसको प्रमुख कारण युवाहरूमा नेतृत्व तथा सामाजिकरणको क्षमताको अभाव हुनु र युवाहरूको राजनीतिप्रतीको संहारकारी घट्दो मोह हो। साथै राजनीतिक पार्टीपंक्ति बुढाका नेताहरूले युवालाई नेतृत्व हस्तान्तरण गर्न नचाहनु र आफ्नालाई मात्रै नेतृत्वको लागि सक्षम देख्ने नेताहरूको नातावाद र कृपावादले ग्रसित दृष्टिदोष पनि अर्को प्रमुख कारण हो। त्यस्तैगरि युवाहरू नेतृत्वप्राप्त गर्नका निम्ति जोखिम मोल्न तयार नहुनु , सदैव विकल्प खोज्ने युवाहरू आफै विकल्प बन्न तयार नहुनु पनि विद्यमान अवस्थमा युवा नेतृत्वको अभाव र युवा आन्दोलन कमजोर हुनुको कारण हो। आजको युवाहरूमा भोलिको कल्पना नभएको हैन , ती कल्पनाहरुलाई प्रस्तुत गर्न नदिएको हो।
त्यसैले युवाहरूको हक हितको संरक्षण र सम्वर्द्वन गरि समुन्नत , समाजवाद उन्मुख समृद्ध नेपाल निर्माणका लागी सक्षम युवाहरू तयार गर्ने युवासम्बन्धी निति निर्माण र कार्यान्वयन तहसम्म युवालाई सहभागी गराई राष्ट्रविकासको मूलप्रवाहमा समाहित गर्न सक्ने युवा नेतृत्वको विकास गर्न आवश्यक छ। युवाहरुमा नेतृत्व तथा क्षमता विकास गर्न र युवा आन्दोलनलाई मजबुत बनाउनका निम्ति राज्यले युवाहरुलाई राजनीतिक प्रशिक्षण दिनुपर्छ र युवाहरूमा उद्यमशीलताको विकास र स्वरोजगारको पहुँच र समृद्ध राष्ट्र निर्माणमा युवाहरूको सहभागिता सुनिश्चित गर्नुपर्छ। राज्य र राजनीतिक पार्टीहरु नेतृत्वदायी , स्वाबलम्बी , समावेशी , सशक्त ,अधिकार र कर्तव्यप्रती सचेत , स्वास्थ , कर्मठ र उद्यमी युवाको निर्माण गर्ने कामप्रति केन्द्रित हुनुपर्छ तब मात्रै भ्रष्टाचार , विकृति र विसंगतिका धमिराले खाएको , दरिद्र , रोगी युवा आन्दोलन मजबुत , स्वास्थ हुनेछ र युवा नेतृत्वको निर्माण हुने छ।
अर्थशास्त्री जस्टिल लिनले , युवा विस्फोट ; विकासशील देशहरूमा जनसांख्यिक लाभांश र जनसांख्यिक बम´ शिर्षकको लेखमा लेखका छ्न , व्यापक युवा जनसंख्या भएका विकासशील मुलुकहरुमा युवाले उचित अवसर , सम्मानित श्रम र संतोषजनक आय पाउन सक्ने अवस्थ भएन भने युवाहरु जनसांख्यिक लाभांश होइन , जनसांख्यिक बमको रुपमा परिणत हुन्छ , जहाँ असन्तुष्ट युवाशक्ती सामाजिक र राजनीतिक अस्थिरताको स्रोत र कारक दुबै बन्छ्न।´ यो कुराप्रती वर्तमान अवस्थामा राज्यसंयन्त्र र राजनीतिक पार्टीहरुले चिन्तन गरेको देखिदैन ।
आज देशको विभिन्न स्थानमा `Enough is Enough´ भन्दै युवाहरु सडकमा स्वतःस्फुर्त रुपमा उत्रेका छ्न। यो युवाहरुमा भएको चरम असन्तुष्टिको प्रतिफल हो। यो आन्दोलन बुढा र दरिद्र भएको दिशाहिन भएको युवा आन्दोलनको निम्ति कोसेढुङ्गा साबित हुनसक्छ। तर राजनीतिक र आलोचनात्मक चेतनाका कमि भएका अधिकांश युवाहरू सहभागी भएको उक्त आन्दोलनमा कुशल नेतृत्वको कमिले गर्दा अश्लीयता ,असभ्यता र अराजकता ज्यादा देखिएको छ।
जसले गर्दा आन्दोलनको औचित्यमाथिनै प्रश्न उठेको छ र आन्दोलनलाई सङ्काको दृष्टिकोणले हरेको छ।त्यसैले अब हामी अबको युवा नेतृत्व र युवा आन्दोलनको विषयमा एउटा नयाँ बहस चलाउनु पर्ने देखिन्छ । राज्यले अहिले युवा नेतृत्वको आवश्यकता छ भन्ने कुराको चिन्तन गरेको देखिदैन तर युवाहरूमा राज्यसंरचनामा आफ्नो स्थान खोजी रहेका छ्न । जसको निम्ति कालान्तरमा विभिन्न आन्दोलन हुँदै आएका छ्न , हुँदै छ्न र भावी दिनमा पनि हुने छ्न।
त्यसैले राज्य र राजनीतिक दलहरु युवा र युवा नेतृत्वको विषयलाई लिएर गम्भीर हुनुपर्ने देखिन्छ । यदि उनीहरुले युवाहरूलाई अणु सम्झेर वेवास्त गर्न र राज्यसत्ताबाट टाढा राख्ने हो दुस्साहस गर्ने हो भने प्रतिक्रिया पश्चात आणविक बम बन्ने युवाहरूलाई नियन्त्रण गर्न असफल हुनेछ र यो सबैभन्दा घातक हुने छ।त्यसैले राज्यले युवाहरूमा लगानी गर्दै नेतृत्वदायी , स्वाबलम्बी , समावेशी, सशक्त ,अधिकार र कर्तव्यप्रती सचेत ,स्वास्थ , कर्मठ र उद्यमीयुवाको निर्माण गर्ने केन्द्रित हुनुपर्छ । तब मात्रै परिवर्तनका उत्प्रेरक , वैज्ञानिक समाजवादी क्रान्तिको संवहन पूरा गर्न सक्ने , पुजीवादी अर्थव्यवस्थालाई परास्त गरि समाजवादको निर्माण गर्न अग्रपंक्तिमा रहेर नेतृत्व गर्न सक्ने युवा नेतृत्व पाउँछौं ।
प्रतिकृया दिनुहोस