गिरिजाप्रसाद कोइराला स्मृति सभागृहको ७५ प्रतिशत काम पुरा
भद्रपुर । नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा यहाँ निर्माण भइरहेको सभागृहको बजेट नरोक्न आग्रह गर्नुभएको छ ।
आज यहाँ प्रेस क्लबद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले वर्तमान सरकारले गिरिजाप्रसाद कोइराला स्मृति सभागृहको बजेट रोकेका कारण निर्माण पूरा नभएको आरोप लगाए । वर्तमान प्रधानमन्त्री केपी ओली, तत्कालीन प्रधानमन्त्री सुशिल कोइराला र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले विसं २०७२ असार २८ गते सो सभागृहको संयुक्त शिलान्यास गरेका थिए ।
भद्रपुर नगरापालिका–८ मा मेची रङ्गशालाको पश्चिममा निर्माणाधीन सो सभागृह निर्माणका लागि प्रेरा शाह जेबीले रु १२ करोड ७२ लाख ६९ हजारमा ठेक्का सम्झौता गरेका थिए । सम्झौता अनुसार निर्माण थालिएको दुई वर्षभित्र अर्थात विसं २०७४ असार २८ गतेभित्र सभागृहको निर्माण भइसक्नुपर्ने भए पनि सभागृहको ७५ प्रतिशत काम मात्र पूरा भइसकेको बताए ।
नेता सिटौलाले सो सभागृहको निर्माण पूरा गराउन पहल गरिदिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् । उक्त विषयमा झापा जिल्ला समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलसँग प्रतिक्रिया लिँदा उनले चालू आर्थिक वर्ष्भित्रै सो सभागृहको निर्माण पूरा हुने बताए ।
प्रतिकृया दिनुहोस