नगरपालिकाले गर्यो जस्तापाता वितरण
लमजुङ । बेँसीशहर नगरपालिकाको नगर क्षेत्रमा विपन्न तथा खरका छाना भएका घरमा जस्तापाता लगाउने अभियान चलाएको छ । बेँसीशहर नगरपालिका–११ चितीका नन्दनिधि पाण्डेले आधा उमेर खरको छानाको घरमा बिताए । कमजोर आर्थिक अवस्थाका कारण जस्ताको छानो हाल्न सकेका थिएनन् । यसपालि पाण्डेले पनि जस्तापाता लगाएर सपना पूरा भएको छ ।
बिहीबार उनलाई नौ फुटको १६ थान तथा छ फुटको १८ थानजस्ता र किलाकाटी तथा अन्य व्यवस्थापनका लागि रु १० हजार प्रदान गरिएको बेंसीशहर नगरप्रमुख गुमानसिंह अर्यालले बताए ।
उक्त नगरपालिका–३ गाउँशहरका एकल महिला शुकमाया सार्कीले पनि सात फुटको १० थान र छ फुटको १२ थान गरी २२ थान जस्तापातासँगै रु १० हजार पाएकि छन् । पाण्डे र सार्कीसँगगै नगरपालिकाले वितरण गरेको जस्तापाता १२ जनाले लगिसकेको बेंसीशहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारीले जानकारी दिए ।
नगरपालिकाले विपन्न नागरिक लक्षित कार्यक्रमअन्तर्गत नगरभित्रका खरले छाएका घरको छाना हटाई जस्तापाताले छाउने अभियान चलाएको छ । यस अअभियान अन्तर्गत घरको तथ्याङ्क सङ्कलन गरिसकेपछि खरको छाना भएको घरलाई जस्तापाताले छाउन पहल गरिएको नगरप्रमुख अर्यालले बताए।नगरपालिकाभित्रका कुनै पनि ठाउँमा खरको छानो राख्दैनौँ भन्दै उनले बताए । विपन्न नागरिकको घर जस्तापाताले छाउनका लागि आर्थिक वर्ष २०७५÷७६ मा रु २१ लाख बजेट विनियोजन गरिएको र आगामी आर्थिकवर्षसम्म नगरपालिकाभित्रका सबै खरको घरलाई टिनले छाउने लक्ष्य रहेको बताए ।
नगरपालिकामा निवेदन आएअनुसार वडा नं १ मा १५, २ मा सात, ३ मा सात, ४ मा छ, ५ मा सात, ६ मा १८, ९ मा चार, १० मा ३२ र ११ मा २० खरले छाएको घर छ । वडा नं ७ र ८ मा भने यस्ता घर छैनन् ।
प्रतिकृया दिनुहोस