टेलिकम सम्हाल्ने जिम्मा डिल्लीराम अधिकारीलाई
काठमाडौं । लामो समयपछि ११ जना प्रतिष्पर्धीलाई उछिन्दै डिल्लीराम अधिकारी नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त भएका छन् ।
खुला प्रतिस्पर्धाबाट छानिएका अन्तिम तीन जनामध्ये सबैभन्दा बढी नम्बर पाउने अधिकारीलाई मन्त्रिपरिषदले टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेको हो ।
नेपाल टेलिकमको दशौं तहमा कार्यरत अधिकारीलाई कार्यक्षमता र योजनाका आधारमा टेलिकमको नेतृत्व दिइएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । अधिकारी नेपाल टेलिकमकै दशौं तहका कर्मचारी हुन् । उनी टेलिकमकै प्रवन्ध निर्देशकको प्राविधिक सल्लाहाकार पनि हुन् ।
सरकारले सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा छनौट समिति गठन गरेको थियो । समितिले अन्तिम तीन जनामा नम्बरका आधारमा डिल्लीराम अधिकारी, बुद्धि आचार्य र संगीता पहाडीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।
प्रतिकृया दिनुहोस