वाइडबडी काण्ड : धब्बा लाग्ला त रविन्द्र अधिकारीको राजनीतिक करियरमा ?

Rabindra adhikari 17

काठमाडौं । अहिलेका जल्दाबल्दा मन्त्री हुन् रविन्द्र अधिकारी । तर, अहिले उनको राजनीतिक करियर नै बिग्रनेगरी लेखा समिति अन्तर्गतको उपसमितिले प्रतिवेदन सार्वजनिक गरेको छ ।

सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले नेपाल वायुसेवा निगमले खरिद गरेका २ वटा वाइडबडी जहाजमा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएकोे निष्कर्ष निकालेको छ । सो प्रकरणमा संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारी नै संलग्न भएको प्रतिवेदन आएपछि उनको राजनीतिक करियरमा धब्बा लागेको छ ।

बुधबार लेखा समितिसमक्ष प्रतिवेदन पेश गरेको उपसमितिले वाइडबडी जहाज खरिदमा अधिकारीसहित पूर्वमन्त्री जीवनबहादुर शाही र जितेन्द्रनारायण देवलाई समेत दोषी ठहर गरेको थियो । लेखा समिति अन्तर्गतको उपसमितिले आफूले गरेको अध्ययनका क्रममा भेटिएका तथ्यलाई प्रतिवेदनमा समावेश गरेको छ । थप तथ्य आउनै बाँकी छन् ।

त्यसैले अहिल्यै कोही पनि दोषी ठहर भएका छैनन् । उपसमितिले आफ्नो प्रतिवेदन मात्र बुझाएको हो । प्रतिवेदनमा दोषी देखिएकाले कारबाहीको लागि सिफारिस मात्र गरेको हो । उपसमितिले बुधबार प्रतिवेदन बुझाएको छ, लेखा समितिले आउँदो बैठकमा उपसमितिको प्रतिवेदनलाई ग्रहण गर्नेछ र पारित गर्नेछ ।

त्यसपछि लेखा समितिले प्रतिवेदन अध्ययन गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई वाइडबडी जहाजमा भएको अनियमितताको बारेमा अनुसन्धानको लागि निर्देशन दिनेछ ।

अहिले लेखा समितिको उपसमितिले बहालबाला पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई पनि संसदलाई ढाँटेको र महालेखा परीक्षकको कार्यालयले १५ औं प्रतिवेदनमा अनियमितता भएको ठहर गरे पनि खुसुक्क अन्तिम किस्ताको रकम पठाएको आरोप लगाउँदै कारबाहीको सिफारिस गरेको छ ।

अबको बैठकमा उपसमितिकै प्रतिवेदन अध्ययन गरेर लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई वाइडबडी प्रकरणको बारेमा छानबिनको लागि निर्देशन दिन सक्छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै व्यक्तिमाथि अनुसन्धान थाल्दा स्वतः पद निलम्बनमा पर्ने कानुनी व्यवस्था छैन । भ्रष्टाचार निवारण ऐन २०४९ ले पनि कुनै व्यक्तिमाथि अनुसन्धान गर्दाको बखत पद निलम्बनमा नपर्ने व्यवस्था गरेको छ ।

यता, वाइडबडी खरिद प्रक्रिया आफू मन्त्री हुनुभन्दा पहिले नै भइसकेको बताउँदै मन्त्री अधिकारीले अहिले पर्यटन मन्त्रालयको नेतृत्वमा रहेकाले नाम जोडिएको बताएका छन् ।

‘मन्त्रालयको नेतृत्वमा भएकाले नाम जोडिनु स्वाभाविक हो । तर, योखालको प्रतिवेदन आउला भन्ने सोचेको थिइनँ,’ मन्त्री अधिकारीले भने, ‘वाइड बडी खरिद प्रक्रियामा मेरो संलग्नता छैन भन्ने बेला आएपछि पुष्टि हुन्छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...