२८ औं प्रधानन्यायाधीश जबराको आज सपथ, को हुन् जबरा ?
काठमाडौं । सर्वोच्च अदालतको २८ औं प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबराको नाम अनुमोदन भएको छ । प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्ले गरेको सिफारिस संसदीय सुनुवाइ समितिले सर्वसम्मत रुपमा अनुमोदन गरेपछि शमशेर प्रधानन्यायाधीश बनेका छन् ।
समितिको मंगलबार बसेको बैठकले प्रधानन्यायाधीशमा जबराको नाम अनुमोदन गरेको हो । यस अघि दीपकराज जोशीलाई अस्वीकृत गरेको संसदीय सुनुवाई समितिले जबरालाई सर्वसम्मत रुपमा अनुमोदन गरेको हो ।
समितिका सभापति लक्ष्मणलाल कर्णले प्रधानन्यायाधीशमा संवैधानिक परिषद्को सिफारिस अनुमोदन भएको बताए । यस अघि आइतबार पनि प्रधानन्यायाधीशमा सिफारिस जबराको सुनुवाइ भएको थियो । बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ जबराले दिएका थिए ।
सांसदहरूले बिगतमा गरेको फैसलामा आधारित प्रश्नमा जबराले कानुन बमोजिम गरेको र कानुन बाहिर गएर कुनै पनि काम नगरेको जिकिर गरेका थिए । उनले प्रधानन्यायाधीशका रुपमा अदालत र पदको गरिमालाई जोगाइ राख्ने प्रतिबद्धता ब्यक्त गरे ।
प्रधानन्यायाधीशमा नियुक्त जबराले आफू न्यायालयको मुहारमा कालो पोतेर आफ्नो अनुहार हातले कोतरेर रक्ताम्य पार्दै बाहिरिने मनशायमा नरहेको दावी गरे। उनले समितससमक्ष प्रस्तुत गरेको कार्यायोजना लागू गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
सांसदहरुको प्रश्नको जवाफमा जबराले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका आ–आफ्नो मर्यादामा कानुन अनुसार चल्नुपर्ने र एकले अर्काको कार्यक्षेत्रमा हस्तक्षेप गरे असहजता आउने बताए । आफू प्रधानन्यायाधीश भएपछि सरकारले कानुन अनुसार गर्ने विकासका काममा न्यायालयबाट बाधा हुने फैसला हुन नदिने प्रतिवद्धता व्यक्त गरे । राणाले उमेरहदका कारण २०७९ पुस १७ गते अनिर्वाय अवकाश पाउने छन् ।
प्रधानन्यायाधीशमा नियुक्त जबराले आज बुधबार सपथ लिनेछन् । आज विहान १० बजे उनको सपथ ग्रहण हुने बताइएको छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको उमेर हदका कारण बुधबारबाट बिदा हुने भएका छन् ।
को हुन् जबरा ?
२०१४ साल मंसिर २८ गते काठमाडौंमा जन्मिनुभएका जवरा वीर शमशेरका पनाति हुन् । वीर शमशेरका छोरा इन्द्र शमशेर र उनका छोरा युवराज शमशेरका छोरा जवरा संसदीय सुनुवाइ समितिबाट स्वीकृत भएका हुन् । राणा परिवारबाट त्रिलोकप्रताप राणापछि प्रधानन्यायाधीश हुन पाउने भाग्यशाली ब्यक्ति हुन् जबरा ।
वकालत गर्दागर्दै जवरा २०५३ बैशाख १ गते तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीश नियुक्त भएका थिए । लामो समय अस्थायी न्यायाधीशमै कार्यरत उहाँ स्थायी न्यायाधीश बनेपछि विशेष अदालतको सदस्य पनि भएका थिए ।
विशेष अदालतमा रहँदा उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेका भ्रष्टाचार मुद्दा हेर्ने अबसर पनि पाएका थिए । जबरा विराटनगर हुँदा एउटा जुवाको मुद्दामा फैसला गर्दा विवादमा तानिएका थिए ।
२०५८ साउन ११ गते ‘म्यारिज’ खेलेको अभियोगमा पक्राउ परेका अभियुक्तलाई सफाइ दिन ‘म्यारिज’लाई जुवा होइन भनी फैसला गरेपछि उनि विवादमा तानिएका थिए । तर, उक्त फैसला सर्वोच्चले २०६३ माघ १ गते उल्ट्याइदिएको थियो ।
प्रतिकृया दिनुहोस