न्यायालयको इतिहासमा राणा खानदानबाट दोस्रो प्रधानन्यायाधीश बने चोलेन्द्र
काठमाडौं । राणा शाषणको अन्त्य भएको ६ वर्षपछि अर्थात् २०१४ साल मंसिर २८ गते काठमाडौंमा जन्मिए चोलेन्द्र समशेर जवरा । जो आज मात्रै नेपालको न्याय क्षेत्रमा २८औं प्रधानन्यायाधीशमा अनुमोदन भएका छन् ।
कुनै समयका खानदानी मानिने राणा परिवारका उनी नेपालकै न्याय क्षेत्रका सर्वोच्च पदमा पुगेका हुन् । ६७ वर्ष पुरानो सर्वोच्च अदालतको इतिहासमा राणाबाट प्रधानन्यायाधीश हुने उनी दोस्रो व्यक्ति हुन् ।
२००७ सालको क्रान्ति सम्पन्न भएपछि दरबारले प्रधान न्यायालय खारेज गरी सर्वोच्च अदालत गठन गरेको थियो । राणा शाषणको अन्त्यपछि ०५३ चैत ४ देखि २०५४ कात्तिक १ सम्म त्रिलोकप्रताप राणा प्रधानन्यायाधीश भएका थिए । लामो समयपछि दोस्रो पटक वीर शमशेरका पनाति पुस्ताका सदस्य चोलेन्द्रशमशेर राणा उक्त पदमा पुगेका छन् ।
राणा खानदानका चोलेन्द्र कानुनको अभ्यास गर्न मैदानमा उत्रेका थिए । प्रखर अधिवक्ता र ठाडो वकिलको रुपमा उनले तत्कालीन पुनरावेदनदेखि सर्वोच्च अदालतसम्म आफ्नो छवि निर्माण गरेका थिए ।
राणा नेपालको ‘राणा परिवार’ तत्कालीन प्रधानमन्त्री वीर शमशेरका चौथो पुस्ताका सन्तान हुन् । उनै वीर शमशेरका छोरा इन्द्र शमशेर र उनका छोरा युवराज शमशेरका छोरा राणा संसदीय सुनुवाइ समितिबाट स्वीकृत भएका हुन् । उनले आगामी पुस १८ गतेदेखि न्यायालयको नेतृत्व सम्हाल्ने छन् ।
वकालत गर्दागर्दै चोलेन्द्र ०५३ बैशाख १ गते तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीश नियुक्त भएका थिए । लामो समय अस्थायी न्यायाधीशमै कार्यरत उनी स्थायी न्यायाधीश बनेपछि विशेष अदालतको सदस्य पनि भए ।
प्रतिकृया दिनुहोस