चिसो उस्तै, उपत्यकाभित्र न्यूनतम तापक्रम ० देखि २ सम्म पुग्ने
काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १ डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम घटेसँगै आइतबार यस वर्षकै बढी चिसो महशुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ ।
गत वर्ष डिसेम्बर ३० मा काठमाडौँको न्यूनतम तापक्रम १.८ डिग्री सेल्सियस थियो । त्यसैले गत वर्षको तुलनामा यस वर्ष अलि बढी चिसो भएको मौसमविद् राजु प्रधानाङ्गले बताए ।
प्रधानाङ्गका अनुसार अब केही दिन न्यूनतम तापक्रम ० देखि २ को हाराहारीमा रहनेछ । उनले सिजनल इफेक्टले न्यूनतम तापक्रम घटबढ भइरहेको बताए । तापक्रम घटेपछि उपत्यकामा बढी चिसो महशुस गरिएको छ ।
राति आकाश सफा भएकाले बिहान बेलुकी बढी चिसो महशुस गरिएको हो । सोमबार देशैभरि मौसम सफा रहने विभागले जनाएको छ।
महाशाखाकाको पछिल्लो विवरणानुसार डडेलधुरा, मोरङ र ताप्लेजुङको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको छ । त्यस्तै दाङ र पोखराको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको छ।
सबैभन्दा बढी वीरेन्द्रनगरको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री र अधिकतम तापक्रम २४ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । जुम्लाको न्यूनतम तापक्रम माइनस ७ डिग्रीमा झरेको छ । तापक्रम घटेसँगै जनजीवन कष्टकर बन्दै गएको छ ।
प्रतिकृया दिनुहोस