तिवारी हत्यामा संलग्न सर्वस्वसहित जन्मकैदको सजाय पाएका मेयर कुशवाहाले पाए सफाई
काठमाडौं । हिन्दु युवा संघका तत्कालीन केन्द्रीय अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाय पाएका रौतहटको कटहरिया नगरपालिकाका मेयर सियराम कुशवाहालाई सर्वोच्च अदालतले सफाइ दिएको छ ।
जनकपुर उच्च अदालतको अस्थायी इजलास वीरगन्जले २०७४ फागुन २८ गते सियारामलाई जन्मकैदको फैसला सुनाएको थियो । तर, सर्वाेच्चले भने त्यसलाई उल्ट्याउँदै कुशवाहलाई सफाई दिएको हो ।
जनकपुर उच्च अदालतको वीरगन्ज इजलासका न्यायधीशद्वय लेखनाथ घिमिरे र नारायणप्रसाद श्रेष्ठको संयुक्त इजलाशले फागुन २८ गते नै सियरामलाई जन्मकैदको फैसला सुनाएको थियो । तर परिवारले फैसला कार्यान्वयनका लागि निवेदन दिएपछि यो प्रकरण पुन ब्युँतिएको थियो ।
यसअघि तिवारीको हत्या अभियोगमा चार वर्ष पहिले नै पक्राउ परेका सियारामलाई पर्सा जिल्ला अदालतले सफाइ दिएपछि रिहा भएका थिए । तर चार वर्षपछि जिल्ला अदालतको उक्त फैसालालाई उल्टाउँदै जनकपुर उच्च अदालतको अस्थायी इजलास वीरगन्जले जन्मकैद हुने ठहर गरेको थियो । सो लगत्तै सियाराम गत बैसाख २७ मा काठमाडौंबाट पक्राउ परेका थिए ।
नेकपाका केन्द्रीय सदस्य तथा पूर्व भूमिसुधार मन्त्री प्रभु साहको स्वकीय सचिव भएको समयमा तिवारी हत्या प्रकरणमा मुछिएपछि विवादमा आएका थिए ।
हिन्दु युवा संघका तत्कालीन अध्यक्ष काशीनाथ तिवारीको २०६७ असार १२ गते साँझ वीरगन्जको अशोकवाटिकास्थित शिव पार्वती मन्दिर परिसरमा गोली हानी हत्या गरिएको थियो । त्यसबेला मोटरसाइकल लिएर मन्दिरमा पुगेका सियराम कुशवाह र बाराको हरैयाका अमनप्रसाद कुशवाहमध्ये सियरामले पेस्तोलबाट गोली चलाएर तिवारीको हत्या गरेको आरोप लागेको थियो ।
तिवारीको हत्यामा संलग्न बारा हरैयाका अमनलाई भने प्रहरीले २०६८ साल भदौ २२ गते पक्राउ गरको थियो । उनी हाल वीरगन्ज कारागारमा छन् । अमनकै बयानका आधारमा प्रहरीले सियारामलाई पनि पक्राउ गरेको थियो ।
स्थानीय तहको निर्वाचनमा रौतहटको कटहरिया नगरपालिकाको मेयरमा निर्वाचित सियरामले जन्मकैदको फैसलाबारेमा आफूलाई कुनै जानकारी नभएको बताएका थिए।
प्रतिकृया दिनुहोस