दूरसञ्चार प्राधिकरणका दिगम्बर झाले किन दिए राजीनामा ?
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्त भएको चार महिना नबित्दै दिगम्बर झाले राजीनामा दिएका छन् ।
भदौं २१ गते नियुक्त भएका झाले बुधबार राजीनामा दिएका हुन् । झालाई भदौ २१ गते सरकारले नियुक्त गरेको थियो । धेरै विवाद आएको भन्दै सञ्चारमन्त्री गोकुल बास्कोटाको निर्देशनपछि झाले राजीनामा दिएका हुन् ।
केपी शर्मा ओली नेतृत्वको सरकारले असार २१ गते २०७४ भदौ पछिका देउवा सरकारले गरेका सबै नियुक्ती खारेज गर्ने निर्णयपछि झा पनि बर्खास्तीमा परेका थिए । पुर्नवहालीको माग गर्दै सरकारको विरुद्धमा अदालत पुगेका झालाई ओली नेतृत्वको सरकारले फेरि प्रमुखमा नियुक्त गर्ने तयारी गरेपछि मुद्दा फिर्ता लिएका थिए ।
सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले झालाई नियुक्त गर्न मन्त्रिपरिषदमा प्रस्ताव लगे पनि खुल्ला प्रतिस्पर्धाबाट मात्र प्रस्ताव ल्याउन भनेपछि सार्वजनिक सूचना निकालिएको थियो । समितिले सूचना निकालेपछि त्यसमा झालगायत प्राधिकरणमै कार्यरत वरिष्ठ निर्देशक तथा पूर्व सचिवसमेतले निवदेन दिएका थिए । तर सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाको दवावमा झालाई नै प्रमुखमा नियुक्त गरिएको थियो ।
त्यसअघि पत्रकार सम्मेलन गरेर उनले सत्तारुढ नेकपाका नेताहरुविरुद्ध मानहानी मुद्दा हाल्ने बताएका थिए । झालाई बर्खास्त गर्न माग गर्दै नेकपाका केन्द्रीय सदस्यहरुले हालै मात्र पार्टीमा ज्ञापनपत्र बुझाएका थिए । साथै स्थायी कमिटी बैठकमा समेत झाको नियुक्तिलाई लिएर सरकार र पार्टी नेतृत्वको चर्को आलोचना भएको थियो ।
प्रतिकृया दिनुहोस