दाहाल भन्छन् ‘सरकारको विरोध नगरौँ’
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० स्थायी कमिटीको बुधबार बैठक सकिएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिएपछि आजको बैठक सकिएको हो ।
बैठकमा अध्यक्ष प्रचण्डले वैचारिक, सैद्धान्तिक, सांगठनिक र सरकारका कामकारवाहीका विषयमा धारणा राखेको स्थायी कमिटी सदस्य अग्नि सापकोटाले जानकारी दिए ।
पार्टीले सरकारको विरोध गर्नु भन्दा सघाउनु पर्ने र पार्टी एकता असाधरण एकता भएकाले तल्लो तहसम्मको एकतामा ढिलाई भएको स्वीकारोक्ति उनले गरेका हुन् ।
सापकोटाले बैठकमा नेताहरुले उठाएका प्रश्नहरु जायज रहेको र छिटै यसको सम्बोधन गरिने आश्वासन दिएको बताए ।
नेकपा स्थायी कमिटीको बैठक बिहीबार दिउँसो ३ बजे बस्ने कार्यक्रम रहेको छ । बैठकमा प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीले नेताहरुले उठाएका प्रश्नको जवाफ दिने छन् । उनको जवाफपछि स्थायी कमिटी बैठक सकिनेछ ।
त्यस्तै आजदेखि सुरु हुने संघीय संसदको हिउँदे अधिवेशनमा प्रमुख दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेकाले बैठकमा प्रचण्ड मात्र बोलेका हुन् ।
२९ मंसिरमा सुरु भएको बैठकमा ४४ जना स्थायी कमिटी सदस्यले अध्यक्षद्वयको प्रतिवेदनमाथि धारणा राखेका थिए । आधाभन्दा बढी नेताले सरकार प्रभावकारी नभएको र पार्टी नेतृत्व गतिहीन भएको आरोप लगाउँदै जवाफ मागेका थिए ।
प्रतिकृया दिनुहोस