प्रधानाध्यापकको सरुवा भएपछि... वीरगञ्जको घण्टाघर तनावग्रस्त
वीरगञ्ज । माईस्थानस्थित विधापीठ माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद मेहताको सरुवा भएपछि विद्यार्थीले सोमबार बिहानैदेखि घण्टाघरमा नारा जुलुस गरेका छन् ।
घण्टाघर अहिले तनावग्रस्त अवस्थामा रहेको छ । वीरगञ्ज महानगरपालिकाले शुद्धीकरण अभियानअन्तर्गत प्रअ मेहताको सरुवा सुखचैना माविमा गरेपछि विद्यार्थीले आइतबारदेखि नै महानगर प्रमुख विजयकुमार सरावगीविरुद्ध नाराबाजी गर्दै गरेका छन् ।
उनले शैक्षिक अवस्था तहसनहस पारेको, शिक्षालाई अंग्रजी माध्यम बनाएर अभिभावकसँग चर्को शुल्क असुल्दै आएको, विद्यालयलाई राजनीतिक अखडा बनाएको तथा माफियातन्त्र लाद्न खोजेकाले शुद्धीकरण अभियानअन्तर्गत प्रअ मेहताको सरुवा गरिएको महानगरपालिका प्रमुख सरावगीले बताए ।
उनले भने, ‘विद्यार्थीलाई उचालेर राजनीति गर्न खोज्ने प्रअ मेहतालाई कानूनी कारवाही हुनुपर्छ ।’ महानगरपालिकाले लामो समयसम्म एउटै विद्यालयमा बसेर शैक्षिक अवस्था बिगारेको र विद्यालयलाई कमाइ खाने माध्यम बनाएकाले प्रअ मेहताको सरुवालाई अभिभावकले स्वागतयोग्य मानेको बताइएको छ ।
तर विद्यार्थीले आज बिहानैदेखि नारा जुलुस गर्न थालेपछि घण्टाघर क्षेत्रमा सवारी आगमन ठप्प छ । सुरक्षाकर्मीको बाक्लो उपस्थिति भएकाले कुनै अप्रिय घटना भने घटेको छैन । विद्यार्थीहरू आन्दोनमा उत्रिएपछि उनीहरूको पठनपाठनमा प्रतिकूल असर परेको छ ।
प्रतिकृया दिनुहोस