सर्लाहीमा एक युवकको वीभत्स हत्या
सर्लाही । बरहथवा नगरपालिकामा एक युवकको हत्या भएको छ । बरहथवा–५ का राम बिलास महतोका ३० वर्षीय छोरा मालिक महतोको वीभत्स तरिकाले हत्या भएको हो ।
धारिलो हतियारले उनको टाउको क्षतविक्षत गरी हत्या गरिएको छ । शनिबार बिहान घरभन्दा एक किलोमिटरको दूरीमा सडकमा महतोको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।
नयाँरोड बरहथवा सडकखण्डबाट हात्तीडण्डातर्फ जाने भित्रीबाटोमा सोती चोरनिया पुल नजिक टाउको क्षतविक्षत र घोप्टो परेर लडेको अवस्थामा महतोको शव फेला परेको इलाका प्रहरी कार्यालय प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।
मोबाइलमा फोन आएपछि राति घरदेखि बाहिर निस्केको महतो अबेर रातिसम्म घर नफर्केको र मोबाइल अफ बताएपछि घर परिवारका व्यक्ति खोजतलास गर्दा महतो मृतावस्थामा फेला परेको स्थानीयवासी अशोकसिंह कोइरीले जानकारी दिए ।
मृतक महतो वाग्मती नगरपालिकाको जिरायतमा आफैँले सञ्चालन गरेको निजी विद्यालयमा पढाउँदै आएका थिए । हत्यामा संलग्नको खोजी तथा घटना सम्बन्धमा अनुसन्धान भइरहेको सर्लाही प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए ।
हत्यारलाई पक्राउ गर्नुपर्ने माग गर्दै आफन्त तथा स्थानीयवासीले प्रहरीलाई शव उठाउन दिएका छैनन् । मृतकका डेढ वर्ष र चार वर्षका दुई छोरा छन् । शव उठाउन नदिएपछि कुकुरसहित प्रहरीको विशेष अनुसन्धान टोली घटनास्थलमा पुगेको छ ।
प्रतिकृया दिनुहोस