कमल थापा भन्छन्, धर्म परिवर्तन महारोग भयो
नेपालगन्ज । राजतन्त्र र हिन्दु राष्ट्रको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले बेलबेला हिन्दु धर्मको संरक्षणका लागि कार्यक्रम गर्दै आएको छ । तर, त्ष्यसलाई चुनौती दिँदै मंसिर १४ देखि काठमाडौंमा एसिया प्यासिफिक सम्मेलन गरियो । जसलाई क्रिश्चियन बढाउन सम्मेलन गरिएको आरोप लाग्यो ।
त्यही बेला छिटफुट रुपमा सो सम्मेलनको विरोध पनि भयो । अहिले त्यहिँ राप्रपाले धर्म परिवर्तन गर्नेलाई राज्यले नै संरक्षण दिइरहेको आरोप लगाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म परिवर्तन गराउनेलाई राज्यले संरक्षण गरेर बढावा दिइरहेको आरोप लगाएका हुन् । अध्यक्ष थापाले धर्म परिवर्तन गराउनेलाई संरक्षण गरेर सरकारले धार्मिक द्वन्द्व निम्त्याउन खोजेको आरोप पनि लगाएका छन् ।
‘धर्म परिवर्तन अहिले महारोग भइसकेको छ । योजनाबद्ध र संगठित रुपमा दशौं लाखको संख्यामा धर्म परिवर्तन गराइएको छ’, मंगलबार राप्रपाको प्रदेश नं. ५ स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा थापाले भने, ‘युनिफिकेसन चर्च जस्तो विवादित संस्थाको कार्यत्रममा सरकारको तामझामयुक्त सहभागिताले धर्म परिवर्तनलाई प्रोत्साहित र संरक्षण गरेको छ ।’
अध्यक्ष थापाले नेपाली जनताले राजतन्त्रसहितको हिन्दू राष्ट्रको पक्षमा भएको दावी गरे । धर्म परिवर्तन गराउनेलाई राज्यले संरक्षण गरेको आरोप लगाउँदै उनले राजतन्त्र र हिन्दू राष्ट्रका लागि जनमत संग्रह गर्नुपर्ने बताए ।
जनमत संग्रह भए राज तन्त्रसहितको हिन्दू राष्ट्रको पक्षमा नेपाली जनताले मतदान गर्ने जिकिर गरे । ‘राजतन्त्रसहितको हिन्दूराष्ट्रको पक्षमा मतदान हुने डर नेपाली कांग्रेस र नेकपालाई छ,’ उनले भने, ‘नेपाली जनताले हिन्दूराष्ट्र चाहेर पनि बोल्न मात्र नसकेका हुन् ।’
उनले केपी ओली नेतृत्वको सरकार वर्ष दिन नपुग्दै असफल भइसकेको पनि दाबी गरे । प्रधानमन्त्री ओलीले गलत प्रवृत्तिविरुद्ध निरीह साबित भएको जिकिर गर्दै उनले भने, ‘केपी जीको नियतमाथि म शंका गर्न चाहन्न । उहाँमा राष्ट्रवादी भावना र केही गरौं भन्ने चाहना छ । तर आज देशको घटनाक्रम हेर्दा ओलीजी पनि निरीह र लाचार भएको देखिन्छ ।’
फागुन ७ गतेदेखि हिन्दू राज्य पुनःस्थापना लगायतका मागसहित संघर्षमा जाने पनि बताए । त्यसअघि सबै स्थानीय तहमा जनजागरण अभियान, घरदैलो अभियान र मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गरिने पनि थापाको भनाइ थियो ।
उनले भने, ‘राज्य संयन्त्रले अपराधीहरुलाई संरक्षण गरेकै कारण सुनकाण्ड र निर्मलाको बलात्कारपछि हत्याकाण्ड त्यसै सेलाएर गएको हो । सुनकाण्ड र निर्मला हत्या काण्डमा सरकारमा रहेका व्यक्ति र उनीहरुसँग निकट सम्बन्ध भएकाहरु जेडिन थालेपछि यि सबै विषय सेलाएर गएको प्रष्ट भइसकेको छ ।’
प्रतिकृया दिनुहोस