डा. गिरीको विद्युतीय शव गृहमा अन्तिम संस्कार गरिने
काठमाडौं । मंगलबार बिहान आफ्नै निवासमा ९३ वर्षको निधन भएका पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीको अन्त्येष्टि बुधबार गरिने भएको छ ।
डा. गिरीको बुधबार ३ बजे पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्तिम संस्कार गरिने भएको छ । डा. गिरीले जिवित छँदै लिखित रुपमै आफ्नो अन्त्येष्टि त्यहीँ गर्न ईच्छा राखेका थिए । अन्तिम श्रद्धाञ्जलीका लागि उनको शवलाई दिनभर निवासमै राखियो ।
गिरीलाई श्रद्धाञ्जली दिन उनको निवास बुढानिलकण्ठमा विभिन्न पार्टीका नेताहरुको उपस्थिति थियो । प्रदीप गिरि, राधाकृष्ण मैनाली, पशुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी लगायतका नेता पुगेका थिए ।
जनमत संग्रहको घोषणासँगै राजनीतिबाट बाहिरिएका उनी लामो समय विदेशमा बसेका थिए । तर, ०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि उनी नेपाल फर्किएका थिए । र, शाही मन्त्रिपरिषद्को उपाध्यक्ष भएका थिए ।
यता, पूर्वप्रधानमन्त्री डा. गिरीको अन्त्येष्टिमा सरकारले सलामी अर्पण नगर्ने भएको छ । गिरीको दाह संस्कार भीआइपीको जसरी नभएर सर्वसाधारण नागरिककै जसरी हुने भएको छ ।
सरकारले भीआइपीको निधनमा सलामी दिने प्रचलन छ । तर, गिरी परिवारले सलामी अर्पण गर्ने सरकारको प्रस्तावलाई अस्वीकार गरिदिएको छ ।
प्रतिकृया दिनुहोस