स्यालको कथा बनेकै हो त मेलम्ची खानेपानी आयोजना ?
काठमाडौं । बिना मगर खानेपानी तथा सरसफाईमन्त्रीमा नियुक्त भएलगत्तै दसैंमा काठमाडौंका धारामा मेलम्चीको पानी आउने घोषणा गरिन् । मन्त्री मगरको उक्त घोषणासंगै काठमाडौमा यसको निकै हल्ला–खल्ला भयो ।
गत चैत पहिलो साता मन्त्रीमा नियुक्त हुँदा उनी उनी मेलम्ची आयोजनास्थल नै पुगेकी थिइन् । दोस्रो पटक पनि मन्त्री मगरले मन्त्रालयमा पत्रकार सम्मेलन गरेर दसैंमा पानी आउनेमा शंका नर्गन भनेकी थिइन् । तर उनको प्रतिबद्धता पूरा हुन त परकै कुरा, सुरुङकै काम पनि सम्पन्न भएन ।
उनको त्यो प्रतिवद्धताले काठमाडौंबासीमा केही खुसी ल्यायो । तर, काठमाडौंबासीको त्यो खुसीमा फेरि पनि तुषारापात भएको छ । अर्थात् काठमाडौंबासीले तत्काल मेलम्चीको पानी पिउन नपाउने स्थिती आएको छ ।
काम नसकिँदै सुरुङ निर्माणको जिम्मेवारी लिएको इटालियन ठेकेदार कम्पनी सिएमसी ठेक्का छोड्ने मनसायमा पुगेपछि काठमाडौंबासीको चाहनामा ठेस लागेको मात्रै छैन, मेलम्ची खानेपानी आयोजना पूरा हुन्छ की हुँदैन भन्ने चिन्ता पनि थपिएको छ ।
७ अर्ब ७२ करोडमा सिएमसीसँग सम्झौता भएकोमा हेडवर्क्स र फिनिसिङको महत्वपूर्ण काम बाँकी रहँदै आयोजनाले ७ अर्ब रुपैयाँ भुक्तानी गरिसकेको छ । २०१८ मार्चमा आयोजना सम्पन्न गरिसक्ने गरी सिएमसीसँग सम्झौता थियो ।
सन् २०१३ सेप्टेम्बरसम्म काम सक्ने गरी सन् २००९ मा सुरुङको ठेक्का लिएको चाइना रेल्वेको काममा ढिलासुस्ती गरेको आरोपमा सन् २०१२ मा सम्झौता तोडियो । त्यसपछि २०१३ जुलाइबाट सुरुङ निर्माणको काम इटालीको कम्पनी अपरेटिभ मुरातोरी एन्ड केमेन्टेस्टी (सिएमसी) लाई दिइयो । सो कम्पनीले नोभेम्बरबाट मात्र काम थालेको थियो ।
आर्थिक अभाव भएको बहानामा सिएमसीले मेलम्ची खानेपानी आयोजनालाई पत्र बुझाएर ८ कर्मचारी इटाली भाग्न खोज्दा पासपोर्ट खोसिएपछि त झन काठमाडौंबासीले तत्काल मेलम्चीको पानी पिउन पाउने सम्भावना सकिएको छ । सिएमसीको म्याद पछिल्लो पटक सरकारले गत असारमा २ सय २० दिन थप गरेको थियो । त्यो नसकिँदै क्रिसमस डेको बहाना झिकेर उनीहरु आइतबार काठमाडौं छाड्न लागेका थिए ।
२०४७ सालदेखि सरकारले मेलम्चीको पानी ल्याउन आयोजना ल्याएको थियो । त्यसयता मेलम्चीको आयोजनाले कछुवाको गति लिएको थियो । विभिन्न समयमा कम्पनीहरूले ठेक्का तोड्ने र सरकारको नीति परिवर्तन हुँदासमेत राष्ट्रिय गौरवको रुपमा राखिएको यो आयोजनामा ढिलाइ हुन थालेको नौलो विषय होइन । खानेपानी आयोजना सुरु भएदेखि आयोजनाले हालसम्म १७ जना कार्यकारी प्रमुख पायो ।
मेलम्ची खानेपानी आयोजना सम्पन्न हुँदा करिब २८ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो । १७ अर्ब लागत अनुमान गरेर सुरु भएको आयोजना समयमै सम्पन्न हुन नसक्दा लागत बढ्नदै गएको छ । खानेपानी तथा सरसफाई मन्त्रालयले हालसम्म २३ अर्ब ६७ लाख २६ हजार रुपैयाँ खर्च गरिसकेको छ ।
लागत बढ्दै गर्दा पनि काठमाडौंबासीको सपना भने पूरा भएको छैन । अझैं मेलम्ची खानेपानी आयोजना काठमाडौं आएर पानी पिउने सपना स्यालको कथाझैं बनेको छ ।
हालसम्म ९२ प्रतिशत भौतिक प्रगति भएको आयोजनाको वित्तीय खर्च भने ८४ प्रतिशत मात्रै भएको छ । सन् २०१४ मा लागत संशोधन गरी २३ अर्ब ४५ करोड पुर्याइएको आयोजनाका लागि अहिलेसम्म २३ अर्ब ६७ करोड खर्च भइसकेको छ ।
प्रतिकृया दिनुहोस