क्रिसमसको वहानामा नेपाल छाडेर जाने ठेकेदारसहित ८ जनाको पासपोर्ट जफत
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको निर्माणमा संलग्न ठेकेदार कम्पनीका प्रमुख क्रिस्टियानो क्रुजोसहित ८ जनाको पासपोर्ट सरकारले नियन्त्रणमा लिएको छ ।
इटालियन ठेकेदार कम्पनी सिएमसीका क्रुजोसहित २९ जना कर्मचारी २ दिनदेखि आयोजनाको काम छाडेर हिडेपछि उनीहरुको पासपोर्ट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी अपराध महासाखाले जनाएको छ ।
सरकारले कामसक्न दिएको समयसीमा ४६ दिन वाँकी रहदा निर्माणमा खट्नुपर्ने टोलीले काम छाडेपछि नेपाल छाड्न नदिन उनीहरुको पासपोर्ट जफत गरिएको हो ।
क्रिसमसको वहानामा नेपाल छाडेर जाने र त्यसपछि नआउने नियत देखिएको भन्दै उनीहरुलाई नेपाल छाड्न नदिने गरी पासपोर्ट नियन्त्रणमा लिइएको हो ।
इटालियन ठेकदार कम्पनी सीएमसीले निर्माणाधीन मेलम्ची खानेपानी आयोजना छाडेको घोषणा गरेको छ । तर, सरकारले भने उसको पत्र बुझ्न अस्वीकार गरेको छ ।
ठेकेदार कम्पनीका प्रतिनिधि आयोजनाको बाँकी काम गर्न नसक्ने व्यहोराको पत्र बोकेर आइतबार मेलम्ची खानेपानी आयोजनामा पुगेका थिए । तर, आयोजनाका अधिकारीहरुले पत्र बुझ्न अस्वीकार गरेका छन् । खानेपानी मन्त्रालयले पत्र नबुझ्न आयोजनालाई निर्देशन दिएको थियो ।
सीएमसीले ‘फन्ड सर्टेज’ भएको भन्दै काम अघि बढाउन नसक्ने पत्रमा उल्लेख गरेको स्रोतको दाबी छ ।
यसअघि उसले यही डिसेम्बर १४ सम्म आफूले दावी गरेको रकम दिन समयसीमा दिएको थियो । तर, सरकारले बाँकी काम सिध्याएपछि मात्रै थप रकम भुक्तानी दिने जवाफ दिएको छ ।
प्रतिकृया दिनुहोस