शिक्षाविदहरुको भेला बुटवलमा हुँदै
काठमाडौं । बुटवल उपमहा नगरपालिकामा देशभरका शिक्षाविदको जमघट हुने भएको छ ।
शैक्षिक पाठ्यक्रमका विषयमा बहस चलाउने र ३ तहका सरकारको खाकामा छलफल गर्ने बुटवल उपमहानगरपालिकाले जनाएको छ ।
जमघटको लागि तयारी समिति गठन गर्दै बुटवल उपमहानगरपालिकाले वृहत शैक्षिक सङ्गोष्ठी नाम दिएको कार्यक्रम मुलुकमा पहिलो पटक हुन लागेको दाबी गरिएको छ ।
सीपमूलक विषयसहितको अबको शैक्षिक पाठ्यक्रम कस्तो बनाउने र जनशक्ति उत्पादन तथा व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा खाका तयार पार्न यस्तो शैक्षिक सङ्गोष्ठीको तयारी भइरहेको बुटवल उपमहानगरपालिकाका प्रमुख शिव सुवेदीले जानकारी दिए ।
स्थानीय, प्रादेशिक तथा राष्ट्रियस्तरका पाठ्यक्रममा मौलिकताको शिक्षा जोड्ने र कक्षा ९(१२ को सीपमूलक विषयलाईसमेत कसरी परिमार्जन गर्ने भन्ने विषयमा उपमहानगरले एउटा खाका तयार पारेर प्रस्तुत गर्ने छ ।
उपमहानगरपालिकाले नगर शिक्षा योजना निर्माण गर्नेदेखि मावितहको सीपमूलक विषय, स्थानीयतहको पाठ्यक्रम बनाउन विज्ञहरुको समिति पनि गठन भएको प्रमुख सुवेदीले बताए ।
‘शिक्षक, प्रध्यापक, इञ्जिनीयर, डाक्टर, वैज्ञानिक, प्राविधिक, कलाकार, प्रशासक, कृषकलगायतका शैक्षिक जनशक्ति उत्पादन गर्ने भरपर्दो आधार शिक्षा नै हो’’ उनले भने,“विज्ञान, खोज, अनुसन्धानका साथै प्राप्त भएका वस्तुको उपयोग, प्रशोधन र व्यवसायीकरणको बाटो र पाटालाई शिक्षाले सम्बोधन गर्नुपर्ने छ । यसका लागि विज्ञहरुको समिति गठन भएको हो ।
शिक्षाविद रामलाल श्रेष्ठको संयोजकत्वमा गठन भएको समितिमा विज्ञहरु आनन्दमानसिंह शाक्य, रामकृष्ण पछाइँ, तारा पाण्डे, घनश्याम पाठक तथा प्रेमबहादुर बस्नेत रहेका छन् ।
यस्तो कार्यदलका सदस्य सचिव तथा शिक्षा महाशाखा प्रमुख उपसचिव लोकराज पन्थीले समितिले काम शुरु गरिसकेको जानकारी दिए । समितिले ३ महीनाभित्रमा सबै काम सक्ने छ । सीपयुक्त र दक्षशक्तिको जगबाट नै बुटवलको समृद्धि हुने सबैको ठहर रहेकाले शैक्षिक सङ्गोष्ठी प्रभावकारी हुने बताइएको छ ।
बुटवल उपमहानगरपालिकाले नगर शिक्षा योजना बनाउनका लागि कार्यदल गठन गरेको छ । विज्ञ छवि नेपालको संयोजकत्वमा गठन भएको समितिमा डबल विसी, कृष्ण मल्ल, हेमबहादुर क्षेत्री, कुलराज शर्मा र गोविन्द ज्ञवाली रहेका छन् ।
उपसमितिले कान्ति माविमा रहेको स्रोत केन्द्रको भवनमा कार्यालयसमेत स्थापना गरेर काम शुरु गरेको छ । सामुदायिक र संस्थागत दुबै विद्यालयलाई यो समितिमा समेटिएको छ ।
बुटवल उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माणसम्बन्धी कार्यदल बनेको छ । उक्त समितिमा बुद्धिसागर भट्टराई, राजेन्द्रकुमार आचार्य, टीकाराम न्यौपाने, धनीश्वर गौतम, रुद्रलाल उपाध्याय र मोतिराज पौडेल रहेका छन् ।
बुटवल उपमहानगरपालिकाले नगरपालिका भरमा रहेका संस्थागत र सामुदायिक विद्यालयमा एउटै पोशाक बनाउने तयरी गरेको छ ।
प्रतिकृया दिनुहोस