मिनिट्रक दुर्घटना : सिसिपु डुब्यो शोकमा, गाउँभरी रुवाबासी
नुवाकोट । नुवाकोटको दुर्गम सिसिपु गाउँ शोकमा डुबेको छ । शुक्रबार घेवा (मृत्यु संस्कार) सकेर फर्किएको मिनीट्रक दुर्घटनामा पर्दा जिल्लाको उत्तरपूर्व घ्याङफेदी गाउँपालिका सिसिपुकै २० जनाले ज्यान गुमाए । सिसिपुकै १५ जना अंगभंग भए ।
शोकमा डुबेको सिसिपु गाउँका अधिकांशको घरमा यतिबेला चुलो बलेको छैन । तामाङ जातिको बाहुल्य उक्त घ्याङफेदी सिन्धुपाल्चोक जिल्लासँग सीमा जोडिएको छ । सदरमुकाम विदुरबाट ४ घण्टाको यात्रमा घ्याङफेदी पुगिन्छ ।
सिसिपु गाउँमा रुवाबासी चलेको छ । मृतक सबैको शव संकलन गरी घ्याङडाँडामै राखिएको छ ।
शुक्रबार साँझ करिब ५ बजे मिनिट्रक खोलामा झरेको थियो । सिसिपुका २० जनाको घर पुग्ने र परिवारका सदस्यसँग भेटिने सपना त्यहीँ सकियो । दुर्घटनामा एकै परिवारका तीन जनासम्मले ज्यान गुमाए । सुन श्री तामाङ र उनका देवरहरू सुने र लक्ष्मणले त्यहीँ ज्यान गुमाए । टोकले तामाङ र उनकी बुहारी विभिमायाले पनि एकै ठाउँमा मृत्यु भयो ।
सो दुर्घटनामा परी घ्याङफेदीको सिसिपुकी २७ वर्षीया विभिमाया, १४ वर्षीया सीता र ३६ वर्षीया सुन श्री तामाङले ज्यान गुमाए । सिसिपुकै २४ वर्षीय शुकराम तामाङ, ३९ वर्षीय सेनम लामा, ५५ वर्षीय टोकले तामाङ, २२ वर्षीय मंगले तामाङ, ४४ वर्षीय आइत तामाङ, ४० वर्षीय सेल्वोन तामाङ र ६० वर्षीय खाम्सुङ तामाङको मृत्यु भयो ।
त्यसैगरी ३२ वर्षीय रिवल तामाङ, २० वर्षीय भीमबहादुर तामाङ, ४३ वर्षीय मिङमार तामाङ, ३७ वर्षीय छोवाङसोनाम तामाङ, ३४ वर्षीय लक्ष्मण तामाङ, ४६ वर्षीय वीरबहादुर तामाङ, २० वर्षीय कृष्ण तामाङ, ५० वर्षीय मीनबहादुर तामाङ, ४५ वर्षीय सुने लामा र शिखरबेंसीका १५ वर्षीय रितेश पण्डितले ज्यान गुमाए ।
कच्ची र साँघुरो, घुमाउरो सडकका कारण ट्रकको पांग्रा लिगबाहिर उछिट्टिएको अनुमान गरिएको छ । दुप्चेश्वर गाउँपालिका ७ सिम्टाङस्थित महिलाको दाहसंस्कारबाट फर्किंदा ट्रक पल्टेको थियो । उक्त मिनिट्रक सडकबाट ३ सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।
मानवीय संवेदनशीलतालाई ध्यानमा राखी घटनास्थलमै शव पोस्टमार्टम गरियो । सबैको शव शनिबार अपराह्न जिल्ला अस्पताल त्रिशूलीबाट गएका टोलीले पोस्टमार्टम गरी गाउँपालिका अध्यक्ष योगेन्द्रसिंह तामाङको रोहवरमा आफन्तलाई जिम्मा लगाएको छ । मृतक सबै सिसिपुका रहेका कारण घ्याङडाँडामा सामूहिक दाहसंस्कार गरिने भएको छ ।
यस्तो यहाँको इतिहास
सिसिपु नजिकै घ्याङफेदीको घोप्टेभीरमा २६ वर्षअघि थाई एयरलाइन्सको विमान दुर्घटना भएको थियो। गत २०७१ साल कार्तिकमा पासाङल्हामु मार्गको त्रिशूली–काठमाडौ सडकखण्डको बीचमा रहेको बेलकोटको आरुबोटे भीरमा यात्रुबस दुर्घटनामा तीन विदेशीसहित १४ यात्रुको घटनास्थलमै ज्यान गएको थियो ।
२०७४ साल भदौमा विदुर आउँदै गरेको यात्रुबस शिवपुरी गाउँपालिका गुरुङगाउँ नजिकै दुर्घटना हुँदा सात जनाको ज्यान गएको थियो। यो दुर्घटनाको स्वरूप पनि पहिलेजस्तै छ । यातायातको भरपर्दो साधन नभएको सिसिपुवासी सहज र बाध्यता दुवै कारण मिनिट्रक प्रयोग गर्छन् । त्यहाँको अधिकांश भेगमा यही यात्रु तथा सामानवाहकमा यही प्रयोग हुन्छ ।
कच्ची र साँघुरो सडकमा सहजै गुड्ने हुँदा स्थानीयको रोजाइमा मिनिट्रक पर्ने गरेको छ । कच्ची र साँघुरो बाटोका कारण दुर्घटना भएको भन्दै स्थानीयले रामतीदेखि घ्याङफेदीसम्मको बाटो फराकिलो भएको भए दुर्घटना नहुने बताएका छन् ।
प्रतिकृया दिनुहोस