नुवाकोट दुर्घटनामा मृत्यु हुने २० जनाकै पहिचान खुल्यो
नुवाकोट । दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीमा हिजो साँझ मिनीट्रक दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । यस्तै घाइते भएका १५ जनाको काठमाडौंमा उपचार भइरहेको छ ।
दुप्चेश्वर गाउँपालिका–६ सिम्टाङबाट घ्याङफेदीको सिसिपुतर्फ गइरहेको बा ३ ख ३९१३ नंं को मिनीट्रक घ्याङडाँडामा दुर्घटना हुँदा घटनास्थलमा नै १८ जना र उपचारका लागि अस्पताल लैजाने क्रममा एक र उपचारका क्रममा थप एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।
ज्यान गुमाउनेमा घ्याङफेदी सिसिपुकी २७ वर्षीया विभिमाया तामाङ, १४ वर्षीया सीता तामाङ, ३६ वर्षीया सुनश्री तामाङ, २४ वर्षीय शुकराम तामाङ, ३९ वर्षीय सेनम लामा, ५५ वर्षीय टोकले तामाङ, २२ वर्षीय मंगले तामाङ, ४४ वर्षीय आइत तामाङ, ४० वर्षीय सेल्वोन तामाङ, ६० वर्षीय खाम्सुङ तामाङ, ३२ वर्षीय रिवल तामाङ, २० वर्षीय भीमबहादुर तामाङ, ४३ वर्षीय मिङमार तामाङ, ३७ वर्षीय छोवाङ, सोनाम तामाङ, ३४ वर्षीय लक्ष्मण तामाङ, ४६ वर्षीय वीरवहादुर तामाङ, २० वर्षीय कृष्ण तामाङ, ५० वर्षीय मीनबहादुर तामाङ, ४५ वर्षीय सुने लामा र शिखरवेशीका १५ वर्षीय रितेश पण्डित रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
दुर्घटनामा घाइते भएका १५ जनाको उपचार भैरहेको छ । घाइतेहरुमा घ्याङफेदीको सिसिपुकै २२ वर्षीय छिरिङ तामाङ, ४० वर्षीय रामवहादुर तामाङ, १७ वर्षीय रामु तामाङ, २६ वर्षीय साहिला तामाङ, २३ वर्षीय शिरमेन्दो तामाङ, सावित्रि तामाङ, यारिमेन्दो तामाङ, ३८ वर्षीय मुइजित तामाङ, ४९ वर्षीय वीरवहादुर तामाङ, ३८ वर्षीय लक्ष्मण तामाङ, ३३ वर्षीय चन्द्रबहादुर तामाङ, २६ वर्षीय शुकराम तामाङ, रामभक्त थापा, मानवहादुर तामाङ र एक जना ९ महिनाकी नाबालिका रहेको प्रहरीले जनाएको छ ।
सदरमुकाम विदुरदेखि ४५ किलोमिटर पूर्वमा रहेको दुर्घटनास्थल दुर्गम भएको कारण घाइतेको उद्धारमा समस्या भएको थियो ।
भीरमा छरिएका शवहरु शनिबार बिहानमात्र सेना प्रहरी र स्थानीय संकलन गरेका थिए । शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याउन साधन स्रोत र समयको धेरै खर्च हुने भएकोले पोष्ट मार्टमको लागि घटनास्थलमै जिल्ला अस्पतालबाट चिकित्सकसहितको टोली पठाइएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले बताए ।
प्रतिकृया दिनुहोस