बझाङ हिमपात सुरु, जनजीवन कष्टकर बन्दै
बझाङ । बझाङको हिमाली क्षेत्रमा हिमपात सुरु भएको छ । बुधबार रातिदेखि पानी परेसँगै हिमपात सुरु भएको हो ।
जिल्लाका साइपाल गाउँपालिका, सुर्मा गाँउपालिका, छबीसपाथीभेरा गाउँपालिका, र बुंगल नगरपालिकाको माथिल्लो भेगमा हिमपात भइरहेको छ ।
वर्षा र हिमपातसँगै जिल्लामा जाडो पनि ह्वातै बढेको छ । हिमाली गाउँहरुमा हिउँ जम्न थालेका कारण दैनिक जनजीवन कष्टकर भएको छ । जाडोले केटाकेटी र वृद्धवृद्धा घरबाहिर निस्कन सकेका छैनन् ।
लगातार परेको हिमपातका कारण जिल्लाका अधिकांश विद्यालयसमेत बन्द भएका छन् । हिमपातकै कारण जिल्लामा सञ्चालित सबै एफएम स्टेसनहरु बन्द भएका छन् । घाम नलाग्दा जिल्लामा सञ्चालनमा रहेका ५ वटा एफएम स्टेसन बन्द भएका हुन् ।
बुधबार रातिदेखि वर्षा र हिमपात भएसँगै जिल्लामा सञ्चालित एफएमहरुमा जडान गरिएका सोलारमा चार्ज नहुँदा बन्द भएको रेडियो खप्तड आवाजका अध्यक्ष शैलेन्द्र रोकायाले बताए ।
हिमपातका कारण नेपाल टेलिकमको सेवामा समेत समस्या उत्पन्न भएको छ । घाम नलाग्दा र बुधबार रातिदेखि हिमपातका कारण बाँता र केदारको टावरमा राखिएका सोलार ब्याट्रीहरु चार्ज नभएका कारण नेटवर्क आउने र जाने समस्या उत्पन्न भएको छ ।
प्रतिकृया दिनुहोस