कांग्रेस नेतृत्वबाट कार्यकर्तालाई दुस्मनजस्तै व्यवहार भयो : पूर्वराष्ट्रपति
काठमाडौं । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले कांग्रेसले कार्यकर्ता बिर्सिदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । उनले आफु राष्ट्रपति भएका दिनदेखि नै आफूले कांग्रेस छाडेको तर, कांग्रेसको ट्रेनिङ पाएकाले आफूमा प्रभाव रहेको पनि बताए ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको बिहीबार विमोचन गर्दै यादवले कांग्रेसले तराई मधेसका कार्यकतालाई पनि बिर्सदै गएको गुनासो गरे ।
यादवले कांग्रेस तराई मधेसका जनताबाट टाढिँदै गएको टिप्पणी गरे । उनले पार्टीभित्र गुटउपगुट अन्त्य गरी एक भएर अघि बढ्न सुझाव पनि दिए ।
‘वीपी कोइराला, गणेशमानजी, कृष्णप्रसाद होइन तर, चिन्ता जाग्छ । तपाईहरुको महासमिति किन वीरगञ्जमा भइरहेको छैन ?’ उनले भने, ‘किन काठमाडौंमा भइरहेको छ ?’ कांग्रेस नेतृत्वले नै कार्यकर्तालाई दुस्मनजस्तै व्यवहार गर्ने गरेको उनले बताए ।
उनले कांग्रेुका संस्थापक नेता बिपी कोइरालाले प्रतिपादन गरेको लोकतान्त्रिक समाजवाद आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।
राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न संविधानको कार्यान्वयन आवश्यक रहेको बताए । कांग्रेसको विचार र सिद्धान्त अनुसारको संविधान जारी भएकाले संविधान कार्यान्वयनमा कांग्रेस नै बढी जिम्मेवार हुनुपर्ने उनको भनाई छ ।
संविधानमा धर्म निरपेक्षताको व्यवस्था भए पनि मुलुकका विभिन्न भागमा धर्म परिवर्तनको क्रम तीव्र रुपमा बढ्दै गएकोमा उनले चिन्ता व्यक्त गरे ।
कार्यक्रममा वरिष्ठ नेता पौडेलले काङ्ग्रेस र कम्युनिष्टको समाजवादका सम्बन्धमा देखिएको विवाद र बहसको सन्दर्भमा आफूले पुस्तकमा काङ्ग्रेसको लोकतान्त्रिक समाजवादका सम्बन्धमा स्पष्ट पारेको बताए । विश्वमा राजनीतिक विचारधारा कमजोर भयो भने समाजमा अराजकता र विचलन हुने भन्दै उनले विचारकै प्रधानता हुनुपर्ने बताए ।
काङ्ग्रेस केन्द्रीय सदस्य डा. रामशरण महत, प्रदीप गिरी, प्रा डा लोकराज बराल, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झा र जनता प्रसारण तथा प्रकाशन लिमिटेडका अध्यक्ष डा. विजय पौडेल लगायतले समाजवादको स्थापना र उद्देश्यका बारेमा आफ्ना धारणा व्यक्त गरेका थिए ।
पुस्तक जनता प्रसारण तथा प्रकाशन लिमिटेडले प्रकाशन गरेको हो ।
प्रतिकृया दिनुहोस