विवाह पञ्चमी : महोत्सवले रंगियो जनकपुर, श्रीराम र सीताको पूजा आराधना गरी देशभर मनाइँदै
काठमाडौं । जनकपुरमा यतिबेला बेहुलीझै सिंगारिएको छ । राम र सिताको विवाह महोत्सवले जनकपुर भरिभराउँ छ । विवाहपञ्चमी एउटा चाड मात्र होइन र यसले जनकपुरको मात्र परिचय बोक्दैन, यो नेपाल–भारतबीचको सांस्कृतिक सेतु हो । जनसम्बन्धको प्रतीक पनि हो । त्यसैले त जनकपुर अहिले झकिझकाउ छ, लाखौँ मानिसले भरिभराउ छ ।
त्रेता युगमा मिथिलाका राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामबीच वैवाहिक सम्बन्ध गाँसिएको थियो । त्यसैको सम्झनामा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन सालगिरह मनाइन्छ । यो क्रम बितेको पाँच सय वर्षदेखि जारी छ ।
प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ ।
त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ ।
गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नु भएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारे ।
शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो । रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवताको उपस्थिति रहेको विश्वास गरिन्छ ।
सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुन्छन् ।
महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ । पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमिमा पु¥याइन्छ । त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिन्छ ।
रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । उक्त अवसरमा निस्केको भगवान्को डोला शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गर्छन् ।
रङ्गभूमि मैदानमा वर र वधुपक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतिकात्मक झाँकी र लाखौँ सङ्ख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको रमितालाई उछिनेको हुन्छ ।
पहिले तिरहुतिया गाछीमा मनाइने यो महोत्सव दुई दशकदेखि रङ्गभूमिमा विशेष कार्यक्रमसहित मनाउने गरिएको छ । श्रद्धालु भक्तजन बिहान सबेरैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्ने गर्छन् । सो अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना गरिँदै आएको छ ।
देवताको मानवीयकरणको भावनासँग सम्बद्ध विवाह महोत्सवमा सरिक भएपछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने जनविश्वास छ । उक्त महोत्सव पहिले एक महीनासम्म भव्यरूपमा मनाउने गरिएकामा हाल चार दिन मात्र मनाइन्छ ।
यसैगरी देशभरका राम सीता मन्दिरमा पनि विशेष पूजा आराधना र महोत्सव गरी मनाइँदैछ । आज विवाह गर्न साइत नचाहिने मान्यतासमेत छ । यस अवसरमा आज प्रदेश नं २ सरकारले प्रदेशका आठ जिल्लामा सार्वजनिक बिदा दिएको छ ।
खचाखच होटल, बढ्यो व्यापार
जनकपुरमा अहिले बास पाइनसक्नु छ । लाखौँ मान्छे आइपुगेका छन् । जनकपुरका १० उत्कृष्ट होटल त अग्रिम बुक भइसकेका छन् । जनकपुरका होटल र लजमा ठाउँ नपाएपछि बास बस्न मानिसहरु महोत्तरीको बर्दिबाससम्म पुगेका छन् ।
पछिल्लो समय प्रदेश र संघीय सरकारले मधेसका पर्यटकीय स्थलको विकास गर्न चासो देखाएकोमा गौतम खुसी व्यक्त गर्छन् । ‘आन्तरिक र बाह्य पर्यटकले होटल खचाखच छ,’ नेपाल होटल तथा पर्यटन व्यवसायी संघ प्रदेश २ का अध्यक्ष हीरा गौतम भन्छन्, ‘विवाह पञ्चमीले होटल र पर्यटन व्यवसायी निकै व्यस्त छन् । व्यापार ह्वात्तै बढेको छ ।’
प्रतिकृया दिनुहोस