सिंहदरबारमा बस्यो अन्तरप्रदेश परिषदको पहिलो बैठक
ओली भन्छन्, संघीयता नयाँ खेल भए पनि च्याम्पियन बन्नुस्
काठमाडौं । सिंहदरबारमा पहिलोपटक अन्तरप्रदेश परिषदको बैठक बसेको छ । प्रादेशिक सरकार बनेको १० महिनापछि पहिलो पटक आइतबार बसेको हो ।
पहिलो बैठकमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले धारणा राखे । बाँकी मुख्यमन्त्रीहरुले सोमबार धारणा राख्ने छन् । एजेन्डामा केन्द्रीकृत भएर बसेको यो पहिलो बैठक हो ।
बैठक सोमबार १० बजेदेखि पुन बस्नेछ । सोमबारको बैठकमा बाँकी प्रदेशका मुख्यमन्त्रीले आ–आफ्नो धारणा राख्ने र त्यसपछि प्रधानमन्त्रीले त्यसको जवाफ दिने कार्यक्रम छ ।
परिषदमा प्रधानमन्त्रीसहित संघीय सरकारका गृहमन्त्री, अर्थमन्त्री तथा सातै प्रदेशका मुख्यमन्त्री सदस्य हुने संवैधानिक व्यवस्था छ । संविधानको धारा २३४ मा संघ र प्रदेशबीच तथा प्रदेश– प्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्न एक अन्तरप्रदेश परिषद् रहने व्यवस्था रहेको छ ।
पहिलो बैठकमा परिषद्का सदस्यबाहेक संघका सबै मन्त्री, राज्यमन्त्री, महान्यायाधिवक्ता, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सबै मन्त्रालयका सचिव र मुख्ममन्त्री कार्यालयका सचिवको समेत सहभागिता थियो ।
च्याम्पियन बन्नोस् : ओली
सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता नयाँ खेल भए पनि च्याम्पियन बन्नुपर्ने बताएका छन् । उनले सो बैठकमा प्रधानमन्त्रीले खेलमा पस्ने बित्तिकै कोही खेलाडी पनि च्याम्पियन नहुने बताए ।
‘हामी गलत बाटोमा गएका छैनौं। संघीयता कार्यान्वयनमा गति बढाउन बाँकी छ’ ओलीले भने, ‘संघ, प्रदेश र स्थानीय तहको सहकार्यबाट नै देशलाई अगाडि बढाउन सकिन्छ ।’
उनले संघीयता नेपालको लागि नयाँ विषय भएकाले अभ्यास गर्दै गएपछि च्याम्पियन भइने बताए । उनले संघीयता नयाँ खेल भएको र आफूहरु त्यसमा च्याम्पियन सावित हुनुपर्ने बताए । प्रधानमन्त्रीले संघीयता कार्यान्वयनका लागि सरकारले गति बढाउनुपर्ने बताए ।
बैठकमा मुख्यमन्त्रीहरूले कर्मचारी व्यवस्थापन, वित्त आयोग गठन ऐनहरु निर्माण र विकास निर्माणसम्बन्धी समस्या र तिनको समाधानबारे धारणा व्यक्त गरेका थिए । आफूहरूले संविधानमा भएको व्यवस्थाअनुसारको काम गर्न पाउनुपर्ने संघीयता कार्यान्वयन गर्न ध्यान दिनुपर्नेलगायतका विचार व्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस