निर्धारित समयमा सम्पन्न नगरेको भन्दै हुवाबेलाई ३२ करोड जरिवाना
काठमाडौं । निर्धारित समयमा परियोजना सम्पन्न गर्न नसकेको भन्दै चिनियाँ कम्पनी हुवाबेलाई सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले जरिवाना गरेको छ ।
८ वर्षमा पनि परियोजना सम्पन्न गर्न नसकेको हुवाबेलाई सूचना तथा सञ्चार प्रविधि गोकुलप्रसाद बाँस्कोटाको निर्देशनमा ३२ करोड रुपैयाँ जरिवाना गरिएको हो ।
नेपाल टेलिकमको सिडिएमए मोबाइल परियोजना सम्पन्न गर्नुपर्ने मिति नाघ्दा पनि काम नभएपछि मन्त्री बास्कोटाले कारबाही गर्न निर्देशन दिएको हो ।
नेपाल टेलिकमका हाल जारी दशवटै परियोजना ठेकदार कम्पनीको लापरवाही र टेलिकम नेतृत्वका कारण अलपत्र परेको भन्दै मन्त्री आफैंले कारवाही प्रक्रिया थालेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फोरजी परियोजना अघि बढाउन आवश्यक सबै निर्णय लिने अधिकार मन्त्रालयलाई दिएपछि उहाँ टेलिकम सुधार्ने अभियानमा लागेको हो ।
हुवाबेले सिडिएमए परियोजना २०११ मा शुरु गरेको थियो । नेपाल टेलिकम र हुवाबेबीचको सम्झौता अनुसार सन् २०१३ भित्रमा सिडिएमए बिस्तारको काम सकिनुपर्ने थियो ।
तर, सन् २०१८ सकिन लाग्दा पनि काम सम्पन्न नभएपछि मन्त्रीले टेलिकम पदाधिकारी र ठेकेदारलाई राखेर ३२ करोड बिगो भराउने निर्णय सुनाएको स्रोतले जनाएको छ ।
उनले सिडिएमए परियोजनालाई अब फोरजी परियोजनामा समायोजन गर्न निर्देशन दिएको छ ।
प्रतिकृया दिनुहोस