नेपाल वायुसेवा निगमलाई चाहियो रणनीतिक साझेदार
काठमाडौं । नेपाल वायुसेवा निगमलाई कम्पनीको ढाँचामा लैजाने प्रक्रिया अघि बढेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले बताएका छन् ।
बुधवार प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा बोल्दै अधिकारीले लगातार घाटा झेलिरहेको निगमलाई बचाउने त्यो एउटा आधार हुने बताए ।
निगमलाई त्यसरी व्यवस्थापन गर्ने विषय यसअघिका सरकारहरूले गरे पनि त्यसलाई सबै सरकारले समान महत्व नदिँदा निगम झन् झन् ओरालो बाटो लागेको कतिपय जानकारहरूले बताएका छन् ।
पर्यटनमन्त्री रवीन्द्र अधिकारीले संसारमा राम्रा भनिएका विमान कम्पनीहरुले यस्तो अभ्यासबाट फाइदा उठाएको बताउँदै नेपाल वायु सेवा निगमले समेत त्यसो गर्न ढिलो गर्न नहुने बताएका थिए ।
त्यस्तै विमान खरिदमा नेपालका हकमा देखिएको समस्यासँग जुध्न आवश्यकता झन् बढेको पूर्वमन्त्री प्रकाशचन्द्र लोहनी बताए ।
सरकार फेरिएपिच्छे यस विषयमा गम्भीरता नदेखिएको बताइन्छ । दुईवटा नयाँ वाइड वडी विमान ल्याउँदा समेत गन्तव्यहरू नपाइरहेको भनिएको निगमको अहिलेको समस्या विमानको नभइ व्यवसायिक योजना बलियो बनाउन नसक्नुलाई धेरैले मानेका छन् ।
अर्थ मन्त्रालयको संस्थान समन्वय महाशाखा प्रमुख रहिसकेका विमल वाग्ले, अब नेपाल वायुसेवा निगमलाई मार्ग्निर्देश गर्न सक्ने कम्पनी चयन गर्न सक्षम कार्यदल बनाएर अगाडि बढ्नुपर्ने बताएका छन् ।
प्रतिकृया दिनुहोस