निर्मलाको न्याय खोज्न दिउँसै बालियो टर्च लाइट
कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको विषयमा न्यायका लागि लामो समयदेखि आन्दोलन हुँदै आएको छ । यसैक्रममा बुधबार जिल्ला प्रशाषन कार्यालय अगाडी दिउँदै टर्च लाइट बालेर प्रशाषको धज्जी उडाइएको छ ।
साउन १० मा भएको सो घटनाको दोषी पत्ता नलागेपछि निर्मलाका न्यायका लागि दबाब दिँदै आएको नागरिक संघर्ष समितिले न्याय हराएको भन्दै टर्च बालेर सांकेतिक प्रदर्शन गरेका छन् ।
अधिकारकर्मी सहितको संघर्ष समितिले बुधबार जिल्ला प्रशासनको हाताभित्र नाराजुस गर्दै टर्च बालेर सांकेतिक प्रदर्शन गरेका हुन् । उनीहरुले देशमा न्याय हराएको भन्दै आफूहरुले टर्च बालेर न्याय जोख्ने प्रयास गरेको बताएका छन् ।
यसअघि नागरिक संघर्ष समितिले सोमबार र मंगलबार ११ बजेदेखि ४ बजेसम्म जिल्ला प्रशासन कार्यालयको गेटमा कालो पट्टी बाधेर विरोध जनाएका थिए । तर, बुधबार भने संघर्ष समितिले प्रशासनको मूल गेटमै बसेर टर्च बालेर विरोध प्रदर्शन गरेका छन् । घटनाको चार महिना बितिसक्दा पनि वास्तविक दोषी पत्ता नलागेपछि सरकारलाई दबाब दिन दोहोरो आन्दोलन थालेको संघर्ष समितिले बुधबार हराएको न्याय खोज्न भन्दै टर्च बालेर सांकेतिक प्रदर्शन गरेको हो ।
संघर्ष समितिले दबाबमूलक आन्दोलनसँगै पीडित परिवारले सुरु गरेको अनिश्चितकालीन धर्नामा पनि ऐक्यबद्धता जनाउदै आएको छ । सरकारले आफूहरुको आन्दोलनलाई बेवास्ता गरे पुनः छलफल गरी आन्दोलनका थप कार्यक्रम तय गरिने अधिकारकर्मी शारदा चन्दले बताइन् ।
प्रतिकृया दिनुहोस