जग्गाको तिरो देउतालाई !
काठमाडाै । बझाङको बड्डी ज्याबन जिल्लाकै धेरै मठमन्दिर भएको गाउँ।
करिब ३० परिवारको बसोबास रहेको यहाँ विभिन्न देवीदेवताका १२ वटा मन्दिर छन् । महादेव यहाँका मानिसले पुज्ने सबैभन्दा ठूला देवता हुन् भने सुल्जन, बरम, मठालिंग, भवानी, खोलालो र पसरौलप्रति पनि स्थानीयको विशेष श्रद्धा छ।
डोलारी, लटाबाघ, डाँडाबाघ, धौल्पुर, वनदेवीका मन्दिरको धार्मिक महत्त्व भारतसम्मै फैलिएको छ। यहाँका मानिस आफूलाई महादेवका करिया ठान्छन् ।
सबैको आ–आफ्नै खेतबारी छ तर कसैको नाममा लालपुर्जा छैन । सबै जमिन महादेवको भएको विश्वास गर्छन् । त्यसैले जग्गा उपभोग गरेको मालपोतबापत प्रत्येक परिवारले दुई वर्षमा एउटा बोका महादेवको मन्दिरमा चढाउँछन्।
‘हामीले सरकारको हैन, महादेवको जग्गा उपभोग गरेको हुनाले मालपोत पनि महादेवलाई नै तिर्छौं,’ स्थानीय कल्याण बोहराले भने।
२०४९ सालमा भएको नापीमा यहाँ आएको टोलीलाई महादेवले जग्गा नाप्न नदिएको उनीहरूको भनाइ छ । ‘जग्गा नाप्न सुरु गर्यो कि केही पनि नदेखिने गरी गाउँ नै कुहिरोले ढाकिन्थ्यो,’ स्थानीय नरबहादुर बोहराले भने, ‘कुहिरो फाटेका बेला नाप्न थाल्दा अरिंगाल आएर अमिनहरूलाई टोक्न थाल्थे।
दुई सातासम्म यस्तै भएपछि अमिनहरू जग्गा ननापी भागे ।’ उनले यो महादेवको भूमि भएकाले त्यस्तो भएको हुन सक्ने बताए।
दलितलाई छुवाछूत गरेको, गोरस नदिएको खबर जताततै सुनिन्छ । बझाङमा भने एउटा यस्तो गाउँ छ, जहाँ ठकुरी (सिंह) लाई अछूतजस्तै व्यवहार गरिन्छ।
बुंगल नगरपलिका–६ मा पर्ने अति विकट गाउँ बड्डी ज्याबनमा सिंह थरका मान्छेलाई दूध, दहीलगायत गोरस दिइँदैन । बास पाउन पनि मुस्किल हुन्छ। (कान्तिपुर)
प्रतिकृया दिनुहोस