पुरानो पेशा सम्हाल्ने युवा नहुँदा आरन व्यवसाय संकटमा
पाल्पा । कोइलाको अभावले आरन व्यवसाय संकटमा परेको छ ।
आरन व्यवसायबाट जीविका चलाउँदै आएका विश्वकर्मा समुदायको पुर्खौली पेशा कोइलाको अभावमा अहिले संकटमा परेको हो ।
रामपुर नगरपालिका ५ सुन्दरटोलका ६० वर्षीय इन्द्रबहादुर विक समुदायबाट यो व्यवसाय लोप हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै “युवापुस्ता आरनसम्बन्धी सीप सिक्न छाडेर विदेशतिर लागे, गाउँमा बसेर पुरानो पेशा सम्हाल्ने कुनै युवा नहुँदा आरन व्यवसाय हराउँदै गएको छ,” भने ।
विकले यो व्यवसाय गर्न थालेको ४० वर्ष भयो, हिजोआज सबैले यो पेशा छाड्दै गए पनि उनले भने आफूले सकुञ्जेलसम्म व्यवसायलाई निरन्तरता दिने अठोट गरेका छन् ।
“घरमै बसेर एक महिनामा २० हजारदेखि ३० हजारसम्म कमाउन सकिन्छ, यसले मेरो जीविका चलेकै छ, अरुले व्यवसायलाई निरन्तरता नदिँदा हाम्रो पुर्खौली व्यवसाय नै संकटमा पर्दै गएकोमा दुःख लागेको छ” उनले भने ।
विकले हातले कुदेर कलात्मक रुप दिई गाग्री, ताउला, आम्खोरा, आरी, माना, पाथी फलामबाट कुटो, कोदालो, बञ्चरो, हँसियालगायतका विभिन्न सामग्री बनाउने गर्छन् । हातले कुँदेर बनाइएको कोदालो, बञ्चरो साइज हेरेर ६ सय देखि १ हजार, हँसिया १ सय देखि ३ सय सम्ममा बिक्रि गर्ने गरेको विकले बताए ।
गाउँघरमा कोइलाको अभाव हुँदै जाँदा आरन व्यवसाय चलाउन समस्या परेको विकको भनाइ छ । यो व्यवसायमा उनलाई छोराको राम्रो साथ मिलेको छ । छोरा कृष्ण विक आरन व्यवसायमा निकै सिपालु छन् । उनले भने केही समय विदेश बसेर घर फर्के, बुबाले आरन चलाउन नछाड्ने अठोट गरेपछि विदेश जान छाडेर बुबासँगै आरन व्यवसायमा लागेको छु ।
यस्तै रामपुर मटेरीका ५८ वर्षीय लालबहादुर विकले झण्डै ४८ वर्षको समय आरन व्यवसाय गरेर बिताएका छन् । उनले आफैँले गाग्री, ताउलो, तमाउरो, आम्खोरा, आरीलगायतका हातले कुँदेर बनाइएका तामाका सामग्री प्रतिकेजी १ हजार ८ सय मा बिक्री गर्ने गर्छन् । ज्यालादारीमा भने प्रतिकेजी १ हजार २ सय मा तामाका सामग्री निर्माण गर्छन् । उनले एक महिनामा २० हजारदेखि ३० हजारसम्म कमाइ गर्छन् ।
गाउँघरमा भने आरन चलाउने युवा कोही पनि छैनन् । १० वर्ष पहिले यस क्षेत्रमा ५० भन्दा बढी आरन व्यवसाय सञ्चालनमा थिए । अहिले भने एक दुई जनाले मात्र व्यवसाय चलाएको पाइन्छ । विश्वकर्मा समुदायका पाकापुस्ता भने आरन व्यवसाय लोप हुँदै जाँदा चिन्ता व्यक्त गरिरहेका छन् ।
प्रतिकृया दिनुहोस