ट्राफिक उल्लङ्घन न्यून
रसुवा । क्रमिक रुपले जनचेतना बढ्न थालेपछि राजमार्गमा ट्राफिक नियम उल्लंघनका घटनामा कमी आएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख नवराज खड्काका अनुसार सचेतना कार्यक्रमअन्तर्गत राजमार्ग गस्तीमा तीव्रता, घुम्ती प्रशिक्षण तथा ‘चालकसँग एक मिनेट र यात्रुसँग दुई मिनेट’ कार्यक्रमबाट आएको ट्राफिक नियमको चेतना वृद्धिले ट्राफिक नियम उल्लंघनका घटनामा कमी आएको हो ।
गत वर्ष यस अवधिमा करिब ५ हजार सवारी चालकलाई ट्राफिक नियम उल्लंघन विषयमा कारवाही गर्नुपरेकामा चालु आवको साउनदेखि हालसम्म २ हजार ८९९ लाई मात्र कारवाही गरिएको जनाइएको छ ।
चालु आवको ६ महिनामा सानाठूला १३ सवारी साधन दुर्घटनामा परी त्यसमा सवार १३ जना सामान्य घाइते भएका थिए । २ हजार ८९९ सवारी साधनलाई कारबाही गर्दा २१ लाख ४० हजार जरिवाना लिइएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।
यस्तै गत आवमा ३५ सानाठूला सवारी साधन दुर्घटना, ३५ जना सामान्य घाइते, २ जनाको मृत्यु, ट्राफिक नियम उल्लंघन गर्ने ८ हजार २ सय सवारी साधन कारबाहीमा परी ६२ लाख ८६ हजार जरिवाना भएको ट्राफिक प्रमुख खड्काले बताए ।
प्रतिकृया दिनुहोस