जाडो बढेपछि मोरङ जिल्लामा ५ दिन विद्यालय बन्द
मोरङ । केही दिनयता अत्यधिक जाडो बढेपछि मोरङ जिल्लामा ५ दिनका लागि विद्यालय बन्द गरिएको छ ।
जिल्ला शिक्षा समितिले सामुदायिक तथा निजी विद्यालय ५ दिन बन्द गर्ने निर्णय आज गरेको हो । सोमबारदेखि लागू हुने गरी यही पुस २८ गतेसम्मका लागि विद्यालय बन्द गरिएको सहायक जिल्ला शिक्षा अधिकारी दिव्यराज कट्टेलले जानकारी दिए ।
जाडो अत्यधिक बढेपछि विद्यार्थी संख्यामा पनि कमी हुँदै गएका कारण विद्यालय बन्द गर्नुपरेको उनले बताए । मोरङमा ५९६ सामुदायिक र ३८४ निजी विद्यालय छन् । बर्खे बिदाबाट मिलान गर्ने गरी विद्यालय बन्द गरिएको जनाइएको छ ।
मोरङका कतिपय निजी विद्यालयमा अहिले परीक्षा सञ्चालन भइरहेका छन् । शिक्षा समितिले विद्यालय बन्द गर्ने निर्णय गरेपछि निजी विद्यालयले पनि पछि परीक्षा गर्ने गरी तत्कालका लागि बन्द गर्ने भएका छन् ।
प्रतिकृया दिनुहोस